
१६ पुष २०७६, काठमाडौं
आज (वुधबार) अंग्रेजी नयाँ वर्ष सन् २०२० शुरु भएको छ। नेपालमा आज दिन १ हजार ५ सयभन्दा बढी शिशु जन्मिने अनुमान युनिसेफले गरेको हो।
नयाँ वर्ष २०२० को उपलक्ष्यमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै युनिसेफले आज नेपालमा १ हजार ५ सय ६७ शिशुको जन्म हुने अनुमान सार्वजनिक गरेको हो।
संसारभर आज जन्मिने शिशुमध्ये आधाभन्दा धेरै जन्मिने ८ देशको अनुमानित तथ्यांक सार्वजनिक गर्ने क्रममा नेपालमा आजको एक दिनमा जन्मिने शिशुको पनि अनुमानित विवरण दिएको हो।
आज नयाँ वर्षका दिन संसारभर ३ लाख ९२ हजार ७८ शिशु जन्मिने युनिसेफको अनुमान छ। र, आज नेपालमा जन्मिने शिशुको संख्या त्यसको ०.४ प्रतिशत हुने युनिसेफले जनाएको छ।
संसारभर आज जन्मिने आधाभन्दा धेरै शिशु निम्न ८ देशमा जन्मिने अनुमान युनिसेफल गरेको छ। जुन यस प्रकार छन्ः
-भारत ६७,३८५
-चीन ४६,२९९
-नाइजेरिया २६,०३९
-पाकिस्तान १६,७८७
-इन्डोनेसिया १३,०२०
-संयुक्त राज्य अमेरिका १०,४५२
-डेमोक्रेटिक रिपब्लिक अफ कंगो १०,२४७
-इथियोपिया ८,४९३
हरेक जनवरीमा युनिसेफले नयाँ वर्षका दिनमा जन्मिने शिशुका लागि उत्सव मनाउँछ र यो संसारभर जन्मिने शिशुका लागि सुखद दिन हो।
विज्ञप्तिमार्फत युनिसेफले सन् २०२० मा संसारभरका नेतृत्व वर्ग र राष्ट्रलाई हरेक नवजात शिशुलाई जोगाउन स्वास्थ्यकर्मीको सीप र उपकरणमा लगानी गर्न आव्हान गरेको छ।
‘नयाँ वर्ष र नयाँ दशकको सुरुवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाहरूबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरूको भविष्यका लागि पनि सोच्ने अवसर हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनेका छन्, ‘पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा सुरु गरेका हरेक बालबालिकाको उनीहरूलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ।’





