
१६ पुष २०७६, काठमाकडौं
जिल्लाको विकट महाभारत गाउँपालिका वडा नं. १ र २ का स्थानीय महिलाहरु गर्भवती भएर प्रसूति गराउन घण्टौं हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताका कारण अझै पनि घरमा नै प्रसूति गर्नेको सङ्ख्या धेरै रहेको पाइएको छ।
एकातिर भौगोलिक विकटता र अर्कोतिर बेथा लागेपछि स्वास्थ्य चौकी लैजाने मान्छेको अभावका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको पाइएको हो।
गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्टका अनुसार अहिले पनि ब्यथा लागेपश्चात् सङ्ख्या धेरै रहेको छ। घरमा नै प्रसूति गराउने चलन भएका कारण पनि त्यस्तो अवस्था आएको हो।
स्वास्थ्य चौकीका अनमी हिरामाया घिसिङका अनुसार अघिल्लो आर्थिक वर्ष १८ र यस वर्ष ७ जना गरी २५ जनाले स्वाथ्य चौकीमा प्रसूति गराएका छन्। सरकारले गर्भवती भएपश्चात् नियमित रुपमा चार पटकसम्म गर्भ जाँच गराएर स्वास्थ्य चौकीमा प्रसूति गराएबापत रु ८०० र यातायात खर्चस्वरुप रु. दुई हजार गरी रु दूई हजार ८०० पाउने गरे पनि विशेष गरी स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ्ख्या कम रहेको उनले बताइन्। अहिले पनि वडा नं। १ र २ का सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म आइपुग्न भूगोलअनुसार डेढ घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको घिसिङले बताइन्।
भवन सुविधा सम्पन्न भए पनि अहिले सो स्वास्थ्य चौकी भवनमा दरबन्दीअनुसारको जनशक्ति छैन। विकट क्षेत्रमा दरबन्दीअनुसारको दक्ष जनशक्ति कम हुनुका साथै भूगोलका कारण घण्टौँ हिड्नुपर्ने बाध्यताले सेवा लिन आउनेको सङ्ख्या कमै हुने गरेको स्थानीयहरुको भनाइ छ।





