प्रधानमन्त्री ओलीको स्वास्थ्य पूर्ण रुपमा निको हुन अझै ६ साता



१५ पुष २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरूपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्ने भएको छ। बाहिरबाट हेर्दो घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चारदेखि ६ सातासम्म लाग्ने भएको हो।

उपचारमा संलग्न चिकित्सकहरु भन्छन्, प्रधानमन्त्रीको पेटमा शल्यक्रियापछि लगाइएका टाँका अघिल्लो साता नै हटाइसकिएको छ। ‘अब उनमा शल्यक्रियापछि देखिएका संक्रमण केही पनि छैन।’

शल्यक्रियापश्चात् संक्रमणको असर पेट र रगतमा देखिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए । हाल प्रधानमन्त्री सक्रिय रूपमै काममा फर्किए पनि केही बचाउका उपाय अपनाउनु राम्रो हुने विशेषज्ञहरूले औंल्याएका छन्।

शल्यक्रियाको असरबाट सामान्य रूपमा मुक्त भए पनि प्रधानमन्त्री ओली मौसमी रुघाखोकीबाट जोगिनुपर्ने विशेषज्ञहरू बताउँछन्। ‘मौसमी रुघाखोकीबाट प्रधानमन्त्री जोगिनुपर्छ’ एक चिकित्सकले भने, ‘रुघाखोकीले पेटमा बल पर्ने भएकाले नकारात्मक असर गर्न सक्छ।’ व्यायाम गर्न, धेरै बेरसम्म उभिन र सामान उचाल्न नहुने चिकित्सकको भनाइ छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्