
१५ पुष २०७६, काठमाडौं
पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ। ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको बताएका थिए।
चीनको एउटा अदालतले मानवभ्रूणमा आफूखुसी प्रयोग गर्न लगाइएको प्रतिबन्धको खले उल्लङ्घन गरेको ठहर गरेको छ।
गत वर्ष नोभेम्बरमा उनले ती जुम्ल्याहाको जन्म भएको घोषणा गर्दा संसारभरिबाट उनको आलोचना भएको थियो। समाचारसंस्था सिन्ह्वाका अनुसार त्यही बेला अर्को बच्चाको पनि जन्म भएको थियो। उक्त कुराको पहिला पुष्टि भएको थिएन। ग्वाङ्डोङ प्रान्तस्थित स्थानीय सरकारले ती बच्चाहरूलाई चिकित्सकीय निगरानीमा राखेको छ।
अदालतको आदेशमा जेल सजायबाहेक उनले ३० लाख यूआन अर्थात् झन्डै चार करोड ९० लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने उल्लेख छ। अदालतले उनीसँग मिलोमतो गरेको ठहर गर्दै अरू दुई जनालाई पनि छोटो अवधिका लागि जेल सजाय सुनाएको छ।
सिन्ह्वाका अनुसार शन्जनस्थित अदालतले अभियुक्तहरूले ‘व्यक्तिगत प्रख्याति र लाभ’का लागि काम गरेको र ‘चिकित्सकीय सुव्यवस्था बिथोलेको’ ठहर गरेको छ।
अदातलका अनुसार ती प्रयोग गर्दा उनीहरूले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय आचारसंहिताको आधारबिन्दु नै उल्लङ्घन गरेका थिए।
फाइल तस्बिर





