स्वास्थ्य मन्त्रालयले खटाएको ठाउँमा जान नमान्ने चिकित्सकहरुको सूची तयार गर्दै



०६ पुष २०७६, काठमाडौं

नियमत सरकारको छात्रबृत्तिमा अध्ययन् गर्ने चिकित्सकले अध्ययन पछि सरकारले खटाएको ठाँउमा गई दुई बर्ष सेवा दिनुपर्छ । यो अध्यय्न गर्नु अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग कबुलियत (बोन्ड) गरिएको हुन्छ। तर पछिल्लो समयमा मन्त्रालयले छात्रबृत्तिकै चिकित्सकलाई तोकिएको ठाँउमा खटाउन सकेको छैन्।

‘सरकारसंग कबुलियतनामा गरी अध्ययनमा जाने र सकेपछि खटाएको ठाँउमा जान अटेरी गर्ने चिकित्सकको नाम अब सार्वजनिक नगरी नहुने अवस्थामा पुगिएको छ,’ स्वास्थ्य सचिव खगराज बरालले भने। उनले अहिले खटाएको ठाँउमा जान नमान्ने चिकित्सकहरुको सूची तयार गर्ने प्रक्रिया समेत अघि बढाएको सुनाए।

‘पढाईअघि नै सरकारसंग बोन्ड गर्नुपर्छ। पढाई सकिएपछि दुई बर्ष खटाएकै ठाँउमा जान्छु भनेर तर आईसकेपछि विभिन्न बहाना गरी जान मान्दा रहेनछन्। स्वास्थ्य मन्त्रालयको यो पनि गम्भीर समस्या रहेछ,’ चार महिना अघि स्वास्थ्य मन्त्रालयमा आएका सचिव बरालले भने।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले उपत्यका बाहिर चिकित्सक खटाउन साच्चिकै समस्या भएको बताए। ‘कागजमा चाहि हुन्छ तर बास्तविक रुपमा हुँदैन,’ डा देवकोटाले उदाहरण दिदै भने, ‘डडेल्धुरा अस्पतालमा २० जना चिकित्सक कबुलियत गरेका छन् तर ८ जना पनि पुगेका छैनन्। डडेल्धुराको मात्रै होइन अन्यत्र पनि यस्तो समस्या छ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिकित्सकहरुको एकिन विवरण संकलन गर्ने कार्यलाई अघि बढाएको बताएका छन्।

‘तलव चाहि खनखनी गनेर दिनुपर्ने तर अस्पतालले आफूकहाँ कति चिकित्सक कार्यरत छन् भनेर भन्न नसक्ने अवस्था रहेछ। यो एक खालको भद्रगोल हो। यसलाई मैले समेल्छु नै। मैले सबै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको एकीन विवरण माग गरिसकेको छु। त्यसपछि के गर्ने निर्णय गर्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्