काठमाडौं महानगर अब धूमपान मुक्त शहर बन्दै…..



०३ पुष २०७६, काठमाडौं

अबको एक बर्ष भित्र काठमाडौं महानगरलाई धूमपान मुक्त शहर बनाउने घोषणा गरिएको छ। नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न र काठमाडौंलाई संसारकै स्वस्थ शहर (हेल्दी सिटी) को सूचीमा उभ्याउने योजना अनुरुप महानगरलाई धूमपान मुक्त बनाउने घोषणा गरिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सन् २०२० को डिसेम्वर सम्ममा धूमपानमुक्त महानगरको रुपमा संसारभर चिनाउने प्रतिवद्धता जनाएका छन्।

यो प्रतिवद्धता यत्तिकै आएको भने होइन। व्लुम्बर्ग फिलान्थ्रोपिक तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा भाइटल स्ट्राटेजिक परियोजना अन्तरगर्त काठमाडौंलाई हेल्दी सिटीको रुपमा विकास गर्न लागिएको छ। सोही परियोजना अन्तरगर्त महानगरले काठमाडौंलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाएको हो। काठमाडौं महानगर र यो परियोजनाबीच तीन बर्ष अघि देखि नै सहकार्य भई रहेको छ।

काठमाडौं मात्रै होइन सो परियोजनाले संसारका विभिन्न ७० वटा शहरलाई हेल्दी सिटीको रुपमा विकास गर्दैछ भने एसियाली मुलुकका २१ वटा शहर छनौटमा परेका छन्।

शुक्रबार परियोजना नविकरण गर्ने क्रममा काठमाडौंका मेयर शाक्यले महानगरलाई सन् २०२० को डिसेम्बरसम्ममा धूमपान मुक्त गर्ने प्रतिवद्धता जनाएका हुन्।

जन स्वास्थ्यका लागि कडा कदम चाल्न आवश्यक भईसकेको छ। त्यसैले, महानगरलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाउँछु यसअघि मेयर शाक्यले सोही परियोजना अन्तरगर्त महानगरले सन् २०१७ र २०१८ मा धूमपानले जनस्वास्थ्यमा पार्ने असरका बारेमा व्यापक जनचेतना फैलाएको समेत दावी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्