
०३ पुष २०७६, काठमाडौं
एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्।
मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई करणी प्रयास गरेका थिए। पति नभएको महिलालको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिए।
उनका अनुसार केशबले २७ गते राती १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए। सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जर्बजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।
केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन्।
उनी ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए। बलात्कार गर्न खोज्दा प्रतिकार गरेपनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ। पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।





