मृगौला तस्करीः जिल्ला अदालत ललितपुरले थुनामा पठायो, उच्चले धरौटीमा छोड्यो



२७ मंसिर २०७६, काठमाडौं

मृगौला तस्करी आरोपमा जिल्ला अदालत ललितपुरले थुनामा पठाएका ललितपुरस्थित निदान अस्पतालका सिइओसहित ५ जनालाई उच्च अदालत पाटनले धरौटीमा छोडेको छ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले उनीहरुलाई धरौटीमा छाड्ने आदेश गरेको हो। जिल्ला अदालत ललितपुरले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

ललितपुर जिल्ला अदालतको आदेशले कार्तिक २७ गते उनीहरुलाई थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले २०७६ मंसिर ९, ११ र १५ गते उच्च अदालतमा निवेदन दिएका थिए।

उनीहरुको निवेदनमा मुख्य न्यायाधीशसहितको संयुक्त इजलासले धरौटी माग गरेको हो। उच्चले निदानका कानुन व्यवसायी कुमुदकुमार भट्टराईलाई ९ लाख, सिइओ विपेन्द्र प्रधानलाई पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो। अन्य कर्मचारीलाई भने उच्चले साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो। उच्चको उक्त आदेशपछि उनीहरु धरौटीमा रिहा भएका छन्।

उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

रामेछाप दोरम्बा– ३ का शंकर लामा योञ्जनलाई मृगौला प्रत्यारोपण गरिएको थियो। मृगौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकर लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको थियो।

असोज २९ गते मृगौला तस्करी काण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्