डाक्टर कुट्न नपाएपछि अस्पताल तोडफोड, तीन जना बिरामीको मृत्यु



२६ मंसिर २०७६, काठमाडौं

लाहोरमा डाक्टरलाई कुट्न भन्दै अस्पताल छिरेका वकिलहरुको भिडले तोडफोड मच्चाएका छन्। सो क्रममा तीन जना मुटुका बिरामीको मृत्यु समेत भएको हो।

यो घटना बुधबारको हो। आफ्ना एक जना साथीलाई डाक्टरले कुटेको थाहा पाएपश्चात् बदला लिन भन्दै लाहोरका करीब २ सय वकिलहरु पञ्जाव इन्स्टिीच्युट अफ कार्डियोलोजी (अस्पताल)मा छिरेका थिए। त्यहाँ डाक्टरलाई नभेटेपश्चात् उनीहरुले तोडफोड मच्चाउन शुरु गरेका हुन्। सो क्रममा समयमै उपचार नपाएका तीन जना मुटुका बिरामीको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानी पत्रिका डनले स्वास्थ्य मन्त्री यास्मिन रासिदलाई उदृत गर्दै वकिलहरुको भिडले गरेको आक्रमणमा परी तीन जना बिरामीको मृत्यु भएको उल्लेख गरेको छ। वकिलहरुको भिडले अस्पतालमा पार्किङ गरिएका दर्जनौँ गाडीमा क्षति पुर्याएको प्रहरी भ्यान समेत जलाएको छ। घटनापछि ४० जना वकिल प्रहरी नियन्त्रणमा परेका छन्।

दुई हप्ता अघि एक जना आफ्नो साथीमाथि डाक्टरले आक्रमण गरेको भन्दै बदला लिन आफूहरु अस्पतालमै घुसेको वकिलहरुले बताएका छन्।

फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्