नेपाल नर्सिङ संघको निर्वाचनः मनकुमारी राई समूहद्धारा १९ बुँदे घोषणापत्र सार्वजनिक



२५ मंसिर २०७६, काठमाडौं

आगामी ९ पुसमा हुन लागेको नेपाल नर्सिङ संघको १९ औँ कार्यसमिति निर्वाचनमा उम्मेद्धारी दिएको प्राध्यापक मनकुमारी राई समूहले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो।

घोषणा पत्रमा उक्त समूहले नर्सहरुको पेशागत हक हित र सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस्तै नर्सहरुको क्षमता विकास, नर्सिङ शिक्षालाई सर्वसुलभ र बैज्ञानिक बनाउने, सरकारी सेवामा उच्च तहसम्म नर्सिङ समूहबाट पुर्याउन नीतिगत रुपमा व्यवस्था गर्न पहल गर्ने लगायतका बुदाहरु पनि समावेश गरेको छ।

अध्यक्षका प्रत्यासी राईले अघिल्ला कार्यसमितिले गरेका राम्रो कार्यलाई निरन्तरता दिने र नर्सहरुको हक हितलाई केन्द्रीत गरि थप नयाँ योजना घोषणा पत्रमा सार्वजनिक गरिएको बताईन। महाराजगञ्ज नर्सिङ क्याम्पसबाट अवकाश लिइसकेकी राईले आफूलाई अब झन् पुरा समय नर्सहरुको हक हितमा कार्य बाटो खुलेको दावी गरिन्।

कार्यक्रममा बर्तमान कार्य समितिका अध्यक्ष प्राध्यापक तारा पोखरेल, उपाध्यक्ष अप्सरा पाण्डे, सल्लाकार प्राध्यापक सरला केसी, सानु तुलाधर लगायतले राईको टीमलाई शुभकामना दिएका थिए।

सो अवसरमा बोल्दै अध्यक्ष पोखरेलले संघीय संरचनामा मुलुक प्रवेश गरेको अवस्था र विधानमा केही परिवर्तन गर्नु पर्ने अवस्था भएकोले तोकिएको भन्दा केही ढिलो निर्वाचन हुन गएको बताइन। उनले बर्तमान कार्यसमितिले नर्सिङ पेशालाई सुरक्षित र व्यवस्थित बनाउनुको साथै नर्सिङ अधिकारका लागि निरन्तर लडिरहेको बताइन।

उपाध्यक्ष पाण्डेले अहिलेको कार्यसमितिले पेशागत हक हित र सुरक्षाका लागि निकै काम गरेको भन्दै बाँकी काम राई नेतृत्वको टिमले सम्हाल्ने बताइन। सो अवसरमा उनले बर्तमान कार्यसमितिले गरेका महत्वपूर्ण कामहरुको सूची समेत प्रस्तुत गरेकी थिइन।

‘हामीले स्कुल नर्सको मुद्धा उठायौँ। अहिले लागू भइरहेको अवस्था छ। भोलेन्टियरको रुपमा नर्सलाई राख्न पाइदैन भनेर आवाज उठायौँ। राज्यले त्यसको सम्वोधन गरेको छ। त्यस्तो कुनै अस्पतालले गरेको छ भने उजुरी आएमा कारवाही हुन्छ। चिकित्सा शिक्षा आयोगमा नर्सलाई बाईपास गरिएको थियो। हामीले आवाज उठायौँ र त्यसको सदस्यमा पदेन सदस्य हुने व्यवस्था मिलायौँ। अब हामीले औद्योगिक क्षेत्रमा नर्स हुनुपर्छ भनेर आवाज उठाएका छौँ। नर्सिङ क्षेत्रमा कन्टिनिउ, प्रोफेसनल डेभलपमेन्ट ९सीपीडी०शुरु गर्नेवाला छौँ। यी लगायत धेरै पेशागत हक हित र सुरक्षाका लागि मुद्धा उठायौँ र सफल भयौँ। केही बाँकी कामहरु अव राई नेतृत्वको समूहले गर्नेछ,’ उपाध्यक्ष पाण्डेले भनिन्।

प्रतिक्रिया दिनुहोस्