राष्ट्रसंघले आग्रह गरेः दादुराको महामारीको नियन्त्रणमा सघाउन



२५ मंसिर २०७६, काठमाडौं

दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ।

ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन्। त्यस महामारी विरुद्धको अभियानमा सघाउन अरु देशलाई पनि आग्रह गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गर्नुभएको महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दक्षिणी प्रशान्त महासागरीय क्षेत्रका कम्तीमा पनि तीन लाख नागरिकमा यसको सङ्क्रमण देखिएको समाचार यसअघि नै आएको थियो। यसको प्रकोप प्रतिदिन बढ्दै जान सक्ने खतरालाई मध्यनजर गर्दै यसका लागि सघाउन आग्रह गरिएको हो।

खासगरी समोआ, फिजी, टोंगा, भानुआतु, कुक आइल्याण्ड, नाउरु, टुभालू आदिमा दादुराको प्रकोप बढ्दै गएको छ। यसको प्रकोपका कारण यहाँ सयौँ नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ ।

महामारी नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफको नेतृत्वमा केही सहायता सहायता एजेन्सीहरुले काम गरिरहेका छन्।

ती देशमा अझै ठूलो सहयोग र प्रतिबद्धताको आवश्यकता रहेको पनि बालकोषले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँको अवस्थालाई अझ गम्भीर रुपमा लिन आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघको यो पछिल्लो आग्रह बमोजिम अष्ट्रेलिया र न्युजिल्याण्ड सरकारले भने सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर अरु पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने सहायता एजेन्सीहरुसमक्ष सहयोगको आग्रह गरिएको हो।

यसैबीच टापुहरुले भरिएको देश समोआमा दादुराको महामारीबाट मध्य अक्टोबरबाट हालसम्म ७० जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्