कागेश्वरी मनोहरामा समान विकासले प्राथमिकता पाउँदै [भिडियो सहित]



२४ मंसिर २०७६, काठमाडौं

नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भनेको गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो । गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो । जसको कार्यकारिणी अंग गाउँ कार्यपालिका हुन्छ, भने व्यवस्थापकीय कार्य गर्ने अंग गाउँ सभा हो । त्यस्तै नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाई हो । जसको कार्यकारिणी अंग नगर कार्यपालिका हो, भने व्यवस्थापिकीय कार्य गर्ने अंग नगर सभा हो ।

यो तहले जनतासँग प्रत्यक्ष रुपमा सम्बन्ध स्थापित गर्ने गर्छ । गत २७ फाल्गुन २०७३ बाट ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएकामा पछि बढेर अहिले ७५३ वटा स्थानीय तहहरु भएका छन् । यो बखत् निश्चित मापदण्डमा रहेर प्रत्येक जनप्रतिनिधिहरु आफ्नो तहका विकास अनि समृद्धिमा लागिपरेका छन् । यसरी लागिरहँदा आइपरेका समस्या, चुनौती, गरेका विकास निर्माणका काम, ल्याएका नीति–योजना, भावी कार्ययोजनालगायत यी यावत् प्रश्नहरुको जवाफ हामीले कार्यक्रम ‘स्थानीय सवाल’मार्फत् खोज्ने प्रयास गरेका छौं ।

‘स्थानीय सवाल’को यो अंकमा हामीले काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापासँग माथि उल्लेखित विषयवस्तुमा रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, प्रमुख थापासँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो सामग्रीः

विकासका कुराः

हामी ३१ बैशाख २०७४ को चुनावपछि  १० जेष्ठमा सपथ ग्रहण गरेर कागेश्वरी मनोहरा नगरपालिकाको जननिर्वाचित प्रतिनिधिहरुमा पद बहाली भयौं । अहिले २ वर्ष पुगेर जम्माजम्मी ६ महिना भयो । हामीले ३० असार २०७५ मा प्रथम नगरसभा गर्‍यौं । र पहिलो नगरसभाबाटै हामीले कामहरुलाई इम्ल्पिमेन्ट् गर्दै आयौं । त्यसपछि हामीले जे गर्नुपर्ने काम थियो त्यहीँ काम गर्दै आयौं र तेस्रो नगरसभाबाट भने कामले झनै गति लियो ।

हाम्रो यो नगरपालिका साविकको ६ वटा गाविसहरु मिलेको बनेको नगरपालिका हो । हाल यहाँ ९ वटा वडाहरु छन् । यो नगरपालिका गत १६ मंसिर २०७१ मा घोषणा भएको नयाँ नगरपालिका हो । अब हामी निर्वाचित भएर आएका छौं । कागेश्वरी मनोहरा नगरपालिकाले सँधै समानुपातिक बजेटिङ्ग गर्दै आएको छ । हामीले त्यस्तै नगरसभाबाट क्रमागत योजनाहरु पनि लिएर आएका छौं । क्रमागत योजना र कागेश्वरी मनोहराको ठूला–ठूला पूर्वाधारहरुमा दिगोपन ल्याउनको लागि पनि सोचेका छौं ।

हामीले हाम्रो नगरपालिकामा समान रुपले सबै क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

बजेटका कुराः

गत वर्ष हामीसँग १ अरब १८ करोडको बजेट थियो । हामीले १ अरब ३ करोडको बनाएका थियौं । १ अरब  १८ करोडको बजेटमा २६ करोड रुपियाँ खर्च गर्न सकेनौं । तर, २६ करोडको बजेट बाँकी रहँदा हाम्रो दायित्व ४१ करोडको थियो । अहिले ४१ करोडको काम कागेश्वरी मनोहरामा धमाधम हुँदै छ । वर्षातको कारणले जोड्न नसकिएका बाटाहरुलगायतका कुराहरुलाई क्लियारीफाइ गरेर हामीले गतवर्षको ४१ करोडको बजेटबाट काम गर्दै छौं । यस्तै यो तेस्रो बजेटबाट पनि सन्तोषजनक काम गर्ने छौं ।

कामका बारेमा नगरवासीहरुले पनि त्यस्तो नराम्रो प्रतिक्रियाहरु दिएका छैनन् । किनकी, हामी जनप्रतिनिधिहरु सँधै काम तल्लीन अनि होसियारीपूर्वक काम गरिरहेका हुन्छौं । यस्तै यो वर्ष हाम्रो बजेट १ अरब ९७ करोडको छ । १ अरब ५७ करोडमा १ अरब ११ करोड हाम्रो पूंजीगत खर्च र ४६ करोड चालू खर्च हो । यो बजेटअन्तर्गतको काम भर्खरभर्खर शुरु भएका छन् । हामीले आउँदो चैत्रसम्म सबै सम्झौताहरु गरिसक्ने निर्णय गरेर त्यो काम फत्ते गर्नमा पनि लागिरहेका छौं । अहिले एउटा राम्रो पक्ष स्थानीय सरकार र जनता हामी नै भइसकेपछि हाम्रो बजेट फ्रिज हुँदैन ।

नगरप्रमुख कृष्णहरि थापा आफ्नै कार्यालयमा

एकल अधिकारको कार्यान्वयनः

अहिले वडाध्यक्षहरुलाई जुन खालको एकल अधिकार दिइएको छ । त्यसले पनि अहिले कति कामहरुमा सघाउ पुगेको छ । हामीले भन्दै आएका छौं कि, हामी जनप्रतिनिधिहरुले मात्रै गरेर हुँदैन । सबै नगरवासीहरुको सहकार्यमा हरेक कामहरु हुनुपर्दछ भनेर ।

स्थानीय सरकार भनेको आफैँमा पनि एउटा सरकार हो । त्यसैले हामीले यही नै केही नीतिनियमहरु बनाएर अघि बढेका छौं । यसले हामीलाई विकास निर्माणका कुरा, पनःनिर्माणका कुरा तथा अन्य यस्तै कुराहरुमा सघाएको छ ।

प्रत्यक्ष देखिने गरी भएका काम:

प्रत्यक्ष देखिने गरी हामीले धेरै कामहरु गरेका छौं । गत वर्ष हामीले ३०० वटा योजनाहरु गर्यौं । यसको हामीले किताब पनि प्रकाशन गर्दै आएका छौं । हामीले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष देखिने गरी कामहरु गरेका छौं ।

–सडक/बाटो

हामीले नगरमा सबैभन्दा धेरै प्राथमिकताका साथ गरेका काम सडक नै हो । किनकी, आम–नगरवासीहरुको माग पनि त्यही नै भएकाले हामीले त्यसलाई प्राथमिकतामा राखेका काम गर्यौं । अहिले पनि गरी नै रहेका छौं । हामीले नयाँ सडक खन्ने, खनिसकेका सडकमा ग्राबेल गर्ने तथा केही ठाउँमा पीच गर्नेसम्मको कामहरु गरेका छौं ।

–स्वास्थ्य

स्वास्थ्यको क्षेत्रमा हामीले यो अवधिसम्म ३ वटा शहरी स्वास्थ्य क्लिनिक संचालन गरिसकेका छौं । यो बाहेक पनि स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरेका छौं । अब एउटा अस्पताल बन्दै छ । मूलपानीमा रहेको जिल्ला जनस्वास्थ्यले बनाएको भवनमा हामीले १५ शैयाको सुविधासम्पन्न अस्पताल चलाउने तयारी गरिसक्यौं । त्यहाँ ७७ बैशाखबाट अस्पताल संचालन गर्ने गरी काम गरिरहेका छौं ।

हाल यो भवन कागेश्वरी मनोहरा नगरपालिकाले लिइसकेको छ ।

–शिक्षा

शिक्षाको क्षेत्रमा पनि हामीले धेरै सुधार गर्ने काम गरेका छौं । हाल यहाँ १६ सामुदायिक वटा स्कूलहरु पर्दछन् । शिक्षा समितिको नाताले ति स्कूलहरुको हामीले स्थलगत अध्ययन प्रतिवेदन तयार पारेर त्यो स्कूलसँग कुनकुन खालका समस्याहरु छन्, ति समस्याहरुको पहिचान गरेर त्यसको समाधानका लागि धेरै नीति तथा निर्णणहरुलाई कार्यान्वयन गरेका छौं ।

यस्तै केही स्कूलहरुमा हामीले दिवाखाजाको लागि भनेर केही बजेटहरु छुट्याएका छौं । त्यो बजेटलाई वडामार्फत् हस्तान्तरण गर्ने गरेका छौं । यस्तैगरी अहिले हामीलाई १० जना शिक्षकहरुको आवश्यक्ता परेकामा हामीले यो वर्ष ५ र अर्को वर्ष ५ को पदपूर्ति गर्ने भनी निर्णय गरेका छौं । शैक्षिक क्षेत्रमा हामीले समन्वयात्मक काम गर्दै आएका छौं ।

–पर्यटन

पर्यटनको क्षेत्रमा हामीले कागेश्वरी धाममा आन्तरिक तथा धार्मिक पर्यटन विकास गर्ने भनेर लागेका छौं । त्यसमा मेला लाग्ने व्यवस्था पनि भएको छ । त्यहाँ जाने बाटो निर्माण गरेका छौं ।

अहिले त्यहाँ जाने हो भने त्यहाँबाट पूर्ण काठमाडौं नियाल्न सकिन्छ । त्यसरी अन्य ठाउँमा पनि हामीले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने भनेर लागेका छौं ।

–खानेपानी

खानेपानीको क्षेत्रमा पनि हामीले कामहरु गरिरहेका छौं । दक्षिण ढोकामा दुई वटा ट्याङ्की निर्माण गरेका छौं । त्यसबाट पनि धेरै नगरवासी लाभान्वित हुने छन् । त्यसैगरी अहिले काँडाघारी खानेपानी ट्याङ्की बनाउँदै छौं । हामी अर्को वर्षसम्ममा सबै नगरवासीहरुलाई स्वच्छ धाराको पानी खुवाउने छौं ।

यसैगरी खानेपानीको लागि भनेर केही स्थानहरुमा पाइप बिछ्याउने काम पनि हामीले गरेका छौं ।

–जनगणना

हामीले गत चैत्रमा जनगणना गर्यौं । ०६८ को नेपाल सरकारको तथ्यांकमा हामी ६२ हजार मात्रै थियौं । अहिले १ लाख २ हजार रहेछौं भन्ने तथ्यांक आएको छ ।

यसले विकासको गतिलाई बढाइदिन्छ । किनकी, यहाँबाट मापन हुन्छ कि, कुन वडामा कति जनघनत्व छ ? प्रायः त्यहाँ कुन खालका मानिसहरुको बस्छन् ? उक्त वडाको लागि कति बजेट छुट्याउँदा राम्रो हुन्छ ? यी कुराहरुलाई जनगणनाले पहिचान गर्ने हुँदा हामीले जनगणना गर्यौं ।

अब यसपश्चात्  हामी मेट्रिक प्रणालीअन्तर्गत सबै वडालाई मिलाएर राख्ने छौं । अहिलेसम्म वडा नं ७ र ९ मा राखिसकेका छौं ।

–कृषि:

कागेश्वरी मनोहरा कामठमाडौं महानगरपालिकासँग जोडिएको नगरपालिका हो । त्यो भएर प्रायः जग्गा/जमीन घडेरीमा जान्छ । अनि बाँकी रहेको जग्गा पनि जग्गाधनीले अरुलाई लिजमा दिने गर्छन् ।

त्यसो हुँदा पनि हामीले प्रधानमन्त्री आधुनिकीकरणजस्ता कृषिलाई सहयोग पुर्याउने प्रोजेक्टसम्म पुग्ने, कुन वडामा कुन खालको खाद्य उब्जाउन सकिन्छ ? लगायतका कुराहरुको पहिचान गरेर अगाडि बढ्ने लक्ष्य राखेका छौं । त्यसैगरी हामीले अन्य नगरपालिकासँग पनि सहकार्यमा काम गर्दैछौं । शंखरापुर, गोकर्णेश्वर नगरपालिकालगायतसँगको सहकार्यमा हामीकहाँ रहेका जग्गालाई ल्याण्डपुलिङ्ग(२० प्रतिशत बाटो, ५ प्रतिशत ओपनिसीज र १० प्रतिशतलाई बेचेर त्यसको स्तरोन्नती गर्ने) गर्ने र यसलाई डेप्लोभ गर्ने सोचमा छौं ।

जनगुनासो:

पहिलो वर्ष केही गुनासाहरु आए । किनकी, हामी स्वयं पनि काम कसरी गर्ने भनी सिक्दै थियौं । अहिले काम गर्ने सवालमा त्यति धेरै गुनासाहरु आएका छैनन् । यद्यपि, राजस्वको बारेमा भने अझैसम्म पनि विवाद हराइसकेको छैन । तर पनि ति विवादहरुलाई मध्यनजर गर्दै हामीले नगरवासीहरुलाई कन्भिन्स् गर्दै आएका छौं । यस्तै नगरपालिकाले गरेको हरेक कामहरुको आर्थिक पाटोसमेत समेटिएको किताबहरु प्रकाशन गर्दै आएको छौं । यसले केही हदसम्म भएपनि विवाद कम भएको छ । यस्तै यसले आम–नगरवासीसमक्ष नगरपालिकाले पारदर्शि रुपमा काम गर्छ भन्ने नजिर पनि बसेको छ ।

प्रमुख थापासँग गरिएको कुराकानीः

प्रतिक्रिया दिनुहोस्