
२४ मंसिर २०७६, काठमाडौं
डडेल्धुरा अस्पतालमा लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन। सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरेपछि भने अस्पतालमा प्रमुख मेसु पठाउने निर्णय गरेको थियो।
केही महिना अगाडि समायोजनमा परी डडेलल्धुरा अस्पतालमा पठाइएका प्रमुख मेसु नआउँदै उनको अवकाशपत्र डडेल्धुरा अस्पतालमा पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत रहेका एघारौं तहका प्रमुख मेसु डा. कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालमा समायोजन गरेको थियो। तर डा. खनाल अस्पतालमा हाजिर हुन नपाउँदै मन्त्रीस्तरको अर्को निर्णयअनुसार अनिवार्य अवकाशको पत्र डडेल्धुरा अस्पताललाई थमाइएको छ।
निजामती किताब खानाले डा. खनालको उमेर मिति २०७६ मंसिर १ गते ६० वर्ष पुगेको जनाएपछि उनलाई मन्त्रीस्तरको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ४५९१० मा व्यवस्था भएबमोजिम मिति २०७६ मंसिर २ गतेदेखि लागू हुनेगरी अनिवार्य अवकाश दिइएको हो।
विगत दुई वर्षयता संघीय सरकारको मातहत रहेको डडेल्धुरा अस्पतालमा न त अस्पताल विकास समिति बनेको छ, न त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नै पठाइएको छ। सरकारले गर्ने व्यवस्थापनको चपेटामा परेको डडेल्धुरा अस्पताल थला परेको छ भने सुदूरपश्चिमका लाखौं गरिब जनताहरु सरकारले गरेको व्यवहारबाट पीडा भोगिरहेका छन्।
हाल विशिष्ट विशेषज्ञ अस्पतालमा नाम दर्ज गरिएको डडेल्धुरा अस्पतालमा २ जना मात्रै मेडिकल अधिकृत स्थायी दरबन्दीमा कार्यरत देखिन्छन्।





