नसर्ने रोग नियन्त्रण गर्ने सरकारले अब सित्तैमा औषधी



२० मंसिर २०७६, काठमाडौं

सरकारले अब नसर्ने रोग विरुद्ध प्रयोग हुने औषधि पनि सित्तैमा दिने तयारी थालेको छ। त्यसका लागि चालु आर्थिक बर्षमा नसर्ने रोग विरुद्ध प्रयोग हुने औषधि खरीदका लागि १३ करोड रकम छुट्याएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले नसर्ने रोग नियन्त्रण कार्यक्रम लागू भएका ५१ जिल्लालाई प्राथमिकतामा राखेर वितरण गर्ने औषधि खरीदका लागि सो रकम छुट्याएको हो।

इडीसीडी अन्तरगर्त नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.फडिन्द्रप्रसाद बरालले चालु आर्थिक बर्ष देखि नसर्ने रोग नियन्त्रण गर्न विशेष कार्यक्रम शुरु गरिएको भन्दै औषधि उपकरणका लागि बजेट विनियोजन गरेको बताए।

‘नयाँ संरचना अनुसार अहिले इडीसीडीमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्वन्धी छुट्टै शाखा समेत गठन भएको छ। यस बर्ष ५१ जिल्लामा नसर्ने रोगको विशेष कार्यक्रम शुरु हुँदैछ। ती जिल्लाहरुलाई प्राथमिकतामा राखेर हामीले औषधि उपलव्ध गराउँने छौँ। त्यसमा मुटु, मधुेमह, दम, क्यान्सर लगायतका रोगहरुका औषधि हुनसक्छन् ,’ डा बरालले अगाडी थपे, ‘ती सबै जिल्लाका लागि औषधि उपलव्ध गराउन १३ करोड रुपैयाँ विनियोजन भएको छ।’

इन्हालरको लागि २ करोड

शाखा प्रमुख डा बरालले नसर्ने रोग विरुद्धको कार्यक्रम लागू भएका जिल्लाहरुमा सीओपीडी रोगको उपचारका लागि प्रभावकारी मानिएको औषधि इन्हालर पनि निशुल्क उपलव्ध गराउने तयारी रहेको बताए। ‘यसको लागि हामीले करीब २ करोड रुपैयाँ छुट्याएका छौँ’ बरालले भने।

प्रतिक्रिया दिनुहोस्