१ लाख नगदसहित ललितपुर महानगरले स्वास्थ्य स्वयंसेवकलाई सम्मान गर्ने



२० मंसिर २०७६, काठमाडौं

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट ३ स्वास्थ्य स्वयंसेवकलाई जनही १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ।

विश्व स्वयंसेवक दिवस तथा १६ औं महिला स्वयंसेविका दिवस २०७६ को अवसरमा ललितपुर महानगपालिकाले आयोजना गरेको स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यस्तो घोषणा गरेका हुन्।

महानगरद्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख महर्जनले भने, ‘ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको सिफारिसमा आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट हुने दुई जना महिला स्वास्थ्य स्वयंसेविका र एक जना पुरुष स्वास्थ्य स्वयंसेवकलाई एक–एक लाख पुरस्कार सहित सम्मान गर्नेछौं।’

नगरप्रमुख महर्जनले महिला स्वास्थ स्वयंसेविका र स्वास्थ्य स्वयमसेवकहरुले उल्लेखनीय काम गरेका कारण स्वदेश तथा विदेशमा उच्च प्रशंसा भइरहेको वताए।

उपप्रमुख गीता सत्यालले स्वास्थ्य स्वयम्सेवकहरुले अमुल्य काम गरेको वताइन्। ललितपुर महानगरपालिकाले स्वास्थ्यको नीति बनाउँदा महिला स्वयंसेविकाहरुको मागहरुलाई सम्बोधन गर्ने गरी समावेश गरेर जाने पनि उपप्रमुख सत्यालको भनाइ थियो।

उपप्रमुख सत्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण मातृ मृत्युदर, बाल मृत्युदर घट्न गएको वताइन्।

ललितपुर महानगरका स्वास्थ सल्लाहकार डा. मदनकुमार पियाले विश्वमा ११ करोड स्वयंसेवक रहेको र त्यसमा ६० प्रतिशत महिला स्वयंसेविका रहेका वताए। स्वयंसेविकाहरुले महामारी र विपत्तिको वेलामा मद्दत गर्ने हुनाले त्यसबाट समाज लाभान्वित भएको बताए।

ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्वास्थ्य स्वयम्सेवीहरुले आमाले जस्तै निस्वार्थ सेवा गर्ने भएकोले उनीहरुले समाजमा सम्मान पाएको बताए।

 

प्रतिक्रिया दिनुहोस्