
१९ मंसिर २०७६, काठमाडौं
हालै सार्वजनिक भएको आधिकारीक तथ्याङ्कअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी/एड्स रहेको पाइएको छ।
राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी/एड्स सङ्क्रमितहरूको यो सङ्ख्या ५/२ प्रतिशतले घटेको देखिएको छ।
अहिले सार्वजनिक भएको तथ्याङ्क सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को सङ्ख्याभन्दा घटेको देखिएको हो।
एचआईभी/एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन्। यो समूहका एचआईभी/एड्स सङ्क्रमितहरूको सङ्ख्या एक हजार ८६६ रहेको तथ्याङ्कमा उल्लेख छ।
त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ। उनीहरूको सङ्ख्या ५४३ रहेको सूचना तथा तथ्याङ्क केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ५० भन्दा बढी उमेर समूहका एचआईभी सङ्क्रमितहरूको सङ्ख्या ३२९ रहेको छ। त्यसैगरी २५ देखि ४९ वर्षसम्मको उमेरमा एचआईभी सङ्क्रमित भएकाहरू १२० जना मात्रै रहेका छन्।
चार वर्षभन्दा अगाडिका ६९ जना बालबालिकामा पनि एचआईभी÷एड्स लागेको पाइएको छ।





