
१८ मंसिर २०७६, काठमाडौं
भक्तपुर क्यान्सर अस्पतालमा एक युवतीको घाँटीको पछाडि भागमा फैलिएको २ केजीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। अस्पतालका न्युरो सर्जन डा. राजीव शाह नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले गत साता जटिल अवस्थामा रहेको सो ट्युमरको शल्यक्रियामा सफलता हात पारेको हो।
सर्लाहीकी २५ वर्षीया ती महिलाको ट्युमरको शल्यक्रिया सम्पन्न गर्न करिब ५ घण्टा लागेको थियो। घाँटीजस्तो संवेदनशील स्थानमा जटिल रूपमा फैलिएको ठूलो परिमाणको ट्युमर भएका कारण शल्यक्रिया लामो भएको चिकित्सकको भनाइ छ।
डा. शाह नेतृत्वको उपचार टोलीमा, टाउको तथा घाँटी विभागका डा. विवेक खनाल,डा. सन्देश मैनाली,डा. रिजेन्द्र योगोल र एनेस्थेसिया विभागका डा. दीपेश धिताल, आरोग्य कँडेल, मेडिकल अफिसर डा. विशाल पोखरेल र नर्सहरूको संलग्नता थियो। घाँटीजस्तो संवेदनशील भागमा ट्युमर भएका कारण शल्यक्रिया जटिल भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्।
सफल शल्यक्रियापचात् अबको केही दिनभित्रैमा बिरामीलाई डिस्चार्ज गरिने र उनी पूर्णतः सुरक्षित रहेको उपचारमा संलग्न डा. राजीव शाहले जानकारी दिए। ‘शल्यक्रियापश्चात् बिरामीलाई दुई दिन आइसियूमा राखेर उपचार गरेका थियौँ,’ डा. शाहले भने, ‘अहिले उहाँको स्वास्थ्य सामान्य बनेपछि वार्डमा सारिएको छ।’
व्यक्तिगत गोपनीयतालाई ध्यानमा राखेर बिरामी महिलाको नाम भने सार्वजनिक गरिएको छैन।





