
१५ मंसिर २०७६, काठमाडौं
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ।
चिकित्सकहरुका अनुसार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ भने खाना खान र सामान्य हिडडुल गर्न समेत थालेका छन् ।
“प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा. उत्तमकृष्ण श्रेष्ठले भने।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए। कार्यकारी निर्देशक श्रेष्ठले भने “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ। शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ।”





