
१५ मंसिर २०७६, काठमाडौं
एचआइभी–एड्सबारे मानिसहरुको सोच्ने तरिका अझै सकारात्मक छैन। एचआइभी संक्रमितलाई अझै पनि समाजले अस्वीकार्य भावले हेर्ने गरेको पाईनन्।
त्यसो त यसबारे सकारात्मक सोच पनि विकास हुँदै गइरहेको छ। कतिपय बालबालिका जन्मजात एचआइभी संक्रमित भएर आएको पाइन्छ।
बाल्यावस्थामै एचआइभी देखिए अभिभावकले बालबालिकाको स्वास्थ्यमा कस्तो भूमिका खेल्ने?
जुन बिषयमा सम्बन्धित चिकित्सकहरु यसो भन्छन्ः

एचआइभी मानव शरिरको प्रतिरोधात्मक क्षमता कमजोर गराउने एक प्रकारको भाइरस हो। एचआइभी र एड्स फरक कुरा हो। संक्रमणको अवस्थालाई एचआइभी भनिन्छ भने विभिन्न रोगको संक्रमण भएर प्रतिरक्षा प्रणालीमै असर पुग्नु एड्स हो।
जुनसुकै रोग लाग्दा पनि बालबालिकाहरुका लागि विशेष प्रकारको हेरचाह आवश्यक पर्दछ। अभिभावकले आफ्नो बच्चाको प्रतिरक्षा प्रणाली कत्तिको बलियो छ भनेर वेला–वेलामा परीक्षण गराउनुपर्दछ। संक्रमित बच्चाको पनि वेला–वेलामा स्वास्थ्य तथा रक्तपरीक्षण गराउनपर्दछ।
एचआइभीले प्रतिरक्षा प्रणालीमा सीधै असर गर्ने हुनाले प्रोटिन, कार्बाहाइड्रेट, भिटामिन र शुद्ध खानेकुरा प्रशस्त मात्रामा खुवानुपर्छ।
बच्चालाई धुलो, धुवाँ र फोहोरमा नराख्ने र बच्चाहरु यस्तो वातावरणमा गए भने अभिभावक रिसाउने होइन, सम्झाउने गर्नुपर्दछ। उनीहरुको प्रतिरक्षा प्रणाली कमजोर भएका कारणले गाली गर्नु राम्रो हुँदैन। यस्तो अवस्थामा बच्चालाई जुनकुनै झन्झटले झनै समस्यामा पार्न सक्छ।

संक्रमित बच्चालाई सजिलैसँग पच्ने किसिमका खानेकुरा मात्रै खुवाउनुपर्छ। सागसब्जी राम्ररी छोपेर तथा राम्रोसँग पकाएर मात्रै खान दिनुपर्छ।
दिनप्रतिदिन उमेर बढ्दै जाने हुँदा खानामा सोहीअनुसारको परिकार बढाउँदै लैजानुपर्दछ। एचआइभी संक्रमित बच्चाहरुको प्रतिरक्षा प्रणालीलाई चुस्त–दुरुस्त राख्न सहयोग गर्ने खालका खानेकुरा दिनमा पाँचपटक खुवाउने गर्नुपर्छ।
यसरी खाँदा खाना, खाजा, दूध, गेडागुडी, फलफूल मिलाएर खानुपर्छ। एचआइभीको पनि नयाँ–नयाँ उपचार पद्धति भित्रिरहेको छ। संक्रमण भएको थाहा हुनासाथ दक्ष स्वास्थ्यकर्मीको निगरानीमा एआरभी नामक औषधि सेवन गराउनुपर्छ । एचआइभी मात्रै प्राणघातक रोग होइन।
वेलैमा सही उपचार गराएर नियमित औषधि सेवन गरेमा एचआइभी संक्रमितले पनि लामो जीवन बाँच्ने तथा स्वस्थ मानिससरह काम गर्न सक्ने क्षमता राख्छन्।





