प्रेस रिभ्यू : कीर्तिमानी खेलाडीको गरिबीलाई सागको सम्भावित पदकले रोकेन, ६ बर्षमा ५ सय ६७ केजी सुन बरामद



१४ मङ्सिर २०७६, काठमाडौं

आज मंसिर १४ गते शनिबार, काठमाडौँ उपत्यकाबाट प्रकाशित हुने मुख्य दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थअवस्थाका विषयमा विभिन्न कोणबाट समाचार प्रकाशित गरेका छन् । त्यस्तै मेडिकल कलेजले गरेका ठगीको विषय, दुर्घटना एवं आजदेखि औपचारिक रुपमा सुरु हुन गइरकोको १३ औं साग खेलकूद प्रतियोगिता र उपनिर्वाचन २०७६ जस्ता विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारमा:
अन्नपूर्ण पोस्ट्को एङ्कर समाचारका अनुसार दक्षिण एसियाली खेलकुद(साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन् । ‘मन्दिर जान्छु ’ भन्दै झिसमिसमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन् ।

राष्ट्रको जर्सी लगायर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । वर्षौ कठोर परिश्रम गर्छन् । सबैको सपना पूरा हुँदैन । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन ।

प्रधानमन्त्रीलाई काममा फर्कन आझै १० दिन लाग्ने:
कान्तिपुर दैनिकका अनुसार मनमहोन कार्डियोथारासिक भास्कुर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आंकलन गरेका छन् । त्यसैगरी आजको अन्नपूर्ण दैनिकले ‘रोगै छल्ने आत्मविकास’ शीर्षकमा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी समाचार लेखेको छ । प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित रहेको छ । मिर्गौला प्रत्यारोपणका लागि दुई जना नातेदार तयारी अवस्थामा छन् । आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले प्रत्यारोपणको समय धकेलिएको हो ।

राज्यबाटै ठगिए विद्यार्थी:
नयाँ पत्रिकाका अनुसार मेडिकल कलेजको पक्षपोषण हुने गरी सरकारले गरेको निर्णयले चिकित्सा शिक्षाका विद्यार्थी मर्कामा परेका छन् । कलेजहरुले २०७२÷७३ को ब्याचदेखि नै बढी शुल्क असुले पनि सरकारले २०७४÷७५ र २०७५÷७६ का विद्यार्थीबाट लिएको बढी शुल्क मात्रै फिर्ता हुने गरी कलेज सञ्चालकहरुसँग सहमति गरेपछि विद्यार्थीहरुले राज्यबाटै ठगिएको महसुश गरेका हुन् । उनीहरुले आन्दोलन जारी राखेका छन् ।

२०७२/७३ र २०७३/७४ मा भर्ना भएका विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय मंगलबार सरकार र कलेज सञ्चालकले गरेका थिए । तर, कहिले अनुरोध गर्ने भन्ने कुनै मिति तोकिएको छैन । यता आर्मी मेडिकल कलेजले दुई ब्याचका विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क उठाएको स्विकारे पनि समायोजन भने एक ब्याचको मात्रै गर्ने निर्णय गरेको छ ।

६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद:
कान्तिपुर दैनिकका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ । जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबारको हो । तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन् । चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर,थाइल्याण्डलगायत मुलुमा बसेर सुन अवैध रुपमा ओहोरदोहोर गराउन गिरोह सक्रिय रहेपनि निस्तेज पार्न सरकारले सकेको छैन ।

माफियाको कब्जामा ५०० बिघा सरकारी जग्गा:
नागरिक दैनिकका अनुसार सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले देशभर करिब ५०० बिघा र ६ रोपनी सरकारी जग्गा भूमाफिया र व्यक्तिले हडपेको निष्कर्ष निकालेको छ । ६ महिनाअघि गठित उक्त आयोगले व्यक्तिले हडपेको सरकारी जग्गा पुनः सरकारकै स्वामित्वमा ल्याउन सिफारिस गरेको छ । जग्गा हडप्ने व्यक्तिलाई कारबाही गर्न आयोगले सरकारलाई आग्रह समेत गरेको छ । प्रतिवेदनमा सरकारी जग्गा हडप्ने भूमाफियाको विस्तृत विवरणसमेत खुलाइएको छ । त्यस्तै सरकारी जग्गा व्यक्तिका नाममा बनाउन सहयोग गर्ने कर्मचारी तथा अन्य व्यक्तिलाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

गृहमन्त्रीदेखि मेयरसम्मलाई सर्वोच्चमा अवहेलना मुद्दा:
नयाँ पत्रिकाका अनुसार गृहमन्त्री रामबहादुर थापा र काठमाडौँ महानपालिका मेयर विद्यासुन्दर शाक्यमाथि अवहेलना मुद्दा दायर भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै काठमाडौँ महानगरको मेयरविरुद्ध अबहेलना मुद्दा दायर भएको हो । १६ भदौं २०७२ मा सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासबाट अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलगायत हटाउन फैसला भएको थियो । तर सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि अवहेलना मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्