
१२ मंसिर २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई केहिदिन आईसीयूमै राखेर उपचार गरिने भएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपनि केहिदिन अझैं आईसीयूमै राखिने उपचारमा संलग्न डा. अरुण शायमीले बताए।
मंगलबार बिहानै असह्य पेट दुखेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। अप्रेसन सफल भएपनि उनलाई इलेक्टिभ भेन्टिलेटरमा राखिएको थियो।
भेन्टिलेटरबाट बुधबार बिहान उनलाई हटाएर आईसीयूमा सिफ्ट गरिएको थियो। उनका अनुसार प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ।
करिव १० वर्ष अगाडि प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम नगरिरहेका बेला एपेन्डिसाइटिसको अप्रेसन गरिएकाले संक्रमण नहोस् भन्नेमा चिकित्सकहरु सतर्क रहेको पनि डा. शायमीले जानकारी दिएका छन्।
डा. शायमीले प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार लगातार डायलासिस पनि गरिएको बताए। स्वास्थ्यमा समस्या आएपछि १३ कार्तिकमा ग्राण्डी अस्पताल पुगेका उनको त्यही दिन डायलासिस गरिएको थियो। त्यसयता चार पटक डायलासिस गरिएको छ।





