
११ मंसिर २०७६ काठमाडौं
बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि सरकारले प्रयास गर्न थालेको छ। बंगलादेशका लागि नेपालका राजदूत डा. बंशिधर मिश्र मार्फत समस्या समाधानको प्रयास थालेको हो।
मंगलबार मात्रै राजदूत मिश्र र बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयका उपकुलपति प्राडा कनक कान्ति बारुवाबीच मंगलबार भेटबार्ता भएको छ। उक्त भेटमा नेपाली आवासीय चिकित्सकका परिश्रमिक (स्टाईपेन्ड) आवास र अन्य समस्याको बारेमा छलफल भएको छ। सो अवसरमा उपकुलपति बारुवाले नेपाली चिकित्सकको समस्या समाधान गर्न आफू गम्भीर ढंगले अघि बढने आश्वासन दिएका थिए।
राजदूत मिश्रले विश्वविद्यालयका उपकुलपति नेपाली विद्यार्थीको समस्या समाधान गर्न गम्भीर भएको आफूले पाएको बताएका थिए।
बंगलादेशका राष्ट्रपति अबदुल हमिद दुई साता अघि नेपाल भ्रमणमा रहेका बेला बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समस्याको बारेमा कुरा उठेको थियो। सो क्रममा राष्ट्रपति हमिदले आपसी छलफल गरी समस्या सुल्झाउने बचन दिएका थिए। त्यसैको फलोअपका लागि नेपाली राजदूतले संक्रियता देखाएका हुन्।
नेपाली चिकित्सक डा. सम्राट पराजुलीका अनुसार बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयमा मात्रै ८० देखि १०० जना नेपाली चिकित्सकले एमडीएमएस एमडीएस गर्दैछन्। उनीहरुका लागि विश्वविद्यालयले दिनुपर्ने स्टाइपेन्ड तथा आवासको सुविधा केही समस्या देखिएको विद्यार्थीहरुले बताउँदै आएका छन्।





