प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्था गम्भीर



१० मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गम्भीर रहेको बुझिएको छ। मंगलबार बिहान अकस्मात् स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्यपरीक्षणका क्रममा एपेन्डिसाइटिस फुटेको पाइएको थियो।

एपेन्डिसाइटिस फुटेर पेट र शरिरका अन्य भागमा समेत संक्रमण फैलिसकेकाले तत्कालै शल्यक्रिया गर्नुपर्ने निष्कर्ष विशेषज्ञ चिकित्सकहरूको टोलीले निकालेका थिए।

बिहान ९ः३० बजे अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण लगत्तै ४५ मिनेट लगाएर शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको र सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विज्ञ चिकित्सकहरू सम्मिलित टोलीले परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनिटिस) देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमीलगायतका विधिबाट उपचार गरीकन हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ।’

विशेषज्ञ चिकित्सकका अनुसार ल्यापेरोटोमीको अर्थ प्रधानमन्त्री ओलीको पेट चिरेर त्यहाँ फैलिएको संक्रमण हटाउने तथा एपेन्डिसाइटिस फुट्दा अन्द्राहरूमा फैलिएको पिपलगायत दूषित पदार्थ सफा गर्न अपनाइएको उपचार विधि हो। त्यस्तै, एपेन्डिक्टोमीको अर्थ प्रधानमन्त्री ओलीको फुटेको एपेन्डिसाइटिस काटेर फालिएको हो।

प्रतिक्रिया दिनुहोस्