
१० मंसिर २०७६, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दिप लामिछानेको आँखाको लेजर सर्जरी सम्पन्न भएको छ। लामिछानेको सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा सर्जरी गरिएको हो।
प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा.शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन्। डा. शाश्वत भने, लेजर सर्जरीमा यो एकदमै नयाँ पद्दती हो जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ। उनका अनुसार आँखामा पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारीे छ।
यो सर्जरी –०/५ देखि –१४ सम्मको पावर भएकालाई गरिन्छ। उनले भने “लेजरको अरु पद्दती भन्दा यसमा सुख्खापन कम हुने,घाउ छिटो पुरीने हुन्छ।” सन्दिपको शल्यक्रिया पश्चात दृष्टिक्षमता (भिजन) राम्रो आएको पनि उनको दावी रहेको छ।
विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महंगो छ। नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ। त्यसैले विश्वका धेरै मुलुकहरुबाट विदेशी तथा गैरआवासीय नेपालीहरु यस शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेको अस्पतालको दावी छ।
प्राय जसो गैरआवासीय नेपालीहरु विदेशमा शल्यक्रिया गराउँदा लाग्ने खर्चले नेपाल भ्रमण लगायत परिवार आफन्तजन तथा साथीभाईसँगको भेटघाट र आँखाको उपचार पनि हुने भएकोले बढी आउने गरेको प्रतिष्ठानले जनाएको छ। विदेशीको हकमा पनि शल्यक्रिया साथै नेपाल भ्रमण दुवै हुने भएकोले यसले नेपालको मेडिकल टुरिजम (स्वास्थ्य पर्यटन) लाई पनि टेवा पुर्याएको प्रतिष्ठानको जनाएको छ। शल्यक्रिया पश्चात सन्दिप लामिछाने भने “टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ।
विदेशमा पनि बुझेको थिए यस सम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएको यहाँ गराए। म एकदमै खुशी तथा सन्तुष्ट छु। शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ।”





