प्रधानमन्त्रीको अभिव्यक्तिः ‘५ पटक मृगौला फेरेका मान्छे काम गरिरहेका छन्’



१० मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि मगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे। तर एपेन्डिसाइटिसका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमा भर्ना भए।

अस्पताल जानुअघिसम्म राजकाजका काममा सक्रिय रहेका प्रधानमन्त्री ओलीले अघिल्लो दिन सञ्चार माध्यममा एक घण्टा लामो अन्तरवार्तासमेत दिन भ्याए। अन्तर्वार्तामा उनले आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिँदै आगामी १५/२० वर्षसम्म समस्या नहुने दृढता व्यक्त गरे।

पाँचपटकसम्म मृगौला प्रत्यारोपण गरेकाहरुले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रत्यारोपण गर्नु समान्य भएको बताए।

‘स्वास्थ्यमा समस्या नभएका होइनन्, स्वास्थ्यमा केही समस्या छन्। मेरो किड्नीमा समस्या छ। तर, यो असाध्य होइन’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले डाइलासिस गर्ने गरेको छु। डायलासिसमा एकछिन समय जान्छ, त्यसपछि फ्रेस हुन्छ, काम गर्न सकिन्छ। म काम गर्न सक्ने हालतमा छु।’

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले अगाडि भने, ‘डायलासिस गर्न पर्नेखालको जस्तो स्थिति भएपछि सम्भवतः मैले सेकेण्ड ट्रान्सप्लान्ट पनि गर्नुपर्छ। यो अहिलेको समयमा एकदमै सामान्य कुरा हो। अहिलेसम्म पाँचवटा ट्रान्सप्लान्टसमेत गरेका मान्छेहरु छँदैछन्। एउटाले काम गरेन भने अर्को, अर्कोले काम गरेन भने अर्को। र, काम गरिराख्या छन्। दोस्रो ट्रान्सप्लान्ट गर्नु भनेको अहिले मामुली कुरा हो। सामान्य कुरा भइसक्यो। त्यसकारण ट्रान्सप्लान्ट गर्नु पर्दाखेरि पनि अनौठो होइन। खाली म्याचिङको कुरा हुन्छ। त्यो डोनरको किड्नी चाहिँ म्याच गर्नुपर्छ , त्यत्ति हो।’

आफूलाई १५/२० वर्षसम्म केही नहुने आत्मविश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘स्वस्थ्य मान्छेलाई पनि कुनैबेला केही हुन सक्छ, त्यो बेग्लै कुरा हो। अहिलेको मेरो स्वास्थ्यको स्थितिको कारणले भन्नुहुन्छ भने १५/२० वर्ष कुनै समस्या देखिन्छ जस्तो लाग्दैन।’

प्रतिक्रिया दिनुहोस्