‘चिनियाँ राष्ट्रपति सी को भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ उचाई प्राप्त गरेको छ’ : नेता पोखरेल



०८ मंसिर २०७६, काठमाडौं/आनन्दप्रसाद पोखरेल

नेपालको कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका बिचमा हामीले अवलम्बन गरेका विचारधारा, हाम्रा अभ्यासहरु र यस क्रममा विकसित नयाँ सिद्धान्तको बारेमा छलफल गर्ने उद्देश्यले नेपाल चिन हिमालयन मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विषयमा विशेष आतिथ्य र आगमनमा यो कार्यक्रमको आयोजना गरेका छौँ । यो सत्रमा हामीले विचारको आदानप्रदान गर्नेछौं । विशेष सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार र त्यहाँका अभ्यासबाट विकसित भएको सी चिनफिङ विचाराधाराको बारेमा छलफल गर्छौ । अनुभव साटासाटले पक्कै पनि दुवै देशका जनता र पार्टीहरु लाभान्वित हुने विश्वास लिएका छौँ ।

नेपाल चीन हिमालयन मैत्री समाज संरक्षणको हैसियतले सबभन्दा पहिले म यस कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका कमरेडहरु र सहभागी कमरेडहरुलाई हार्दिक अभिवादन र स्वागत गर्न चाहन्छु । नेपाल चीन हिमालयन मैत्री समाज सन् २००९ को तिब्बतसँग जोडिएका १५ जिल्लाका राजनीतिक सचेत नागरिक, नागरिक समाज र निर्वाचित जन प्रतिनिधिको स्वेच्छिक चाहनामा स्थापित भएको संस्था हो । यसको मूल उद्देश्य नेपाल चीन बिचमा सामाजिक, सांस्कृतिक र दुवै देशबिच भाइचाराको भावना स्थापित गर्नु हो । हिमालयको काखमा बसी जनताको जीवनस्तर उकास्न, हिमाली स्रोतको सही उपयोग गरी त्यहाँका जनतालाई समृद्ध बनाउनु हो । नेपाल चीन हिमालय मैत्री समाज चिनियाँ नीतिको पक्षमा उभिदैँ नेपाल भूमीमा चीन विरुद्धको गतिविधी रोक्ने अभियानको साथ अघि बढेको संस्था हो । मूलत: यो संस्थाले दुवै देशविचमा धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक प्रविधिको विकासमा अघि बढाउने उद्देश्य लिएको छ । संस्था दुई देशबिच हिमाली प्राकृतिक स्रोतको उपयोग, ज्ञान, भाषा र संस्कृतीको प्रवर्द्धन गर्दै सहयोग आदानप्रदान गर्ने दृढ संकल्पित छ ।

काठमाडौँमा केन्द्रिय कार्यालय स्थापना गरी चीनसँग जोडिएका १५ ओटै जिल्ला शाखाहरु खोलेर आफ्ना गतिविधिहरु निरन्तर रुपमा अघि बढाइरहेको कुरा म स्पष्ट गर्न चाहन्छु । करिब ५ हजार बर्ष पुरानो सभ्यता रहेको चीनलाई अहिलेको २१ औँ शताब्दीको विश्व समुदायले संसारको पहिलो जनसंख्या, दोस्रो अर्थतन्त्र सन् १९७८ मा आम रुपमा सुधारक र बाहिरी रुपमा खुल्ला रहेको नीति अवलम्बन गरिएपछि ३० बर्षसम्म निरन्तर दोहोरो आर्थिक बृद्धिदर कायम गरी उदाएको देश हो । संसारका सबभन्दा ठूलो क्षमताका उद्योगहरुको देश, अन्तरार्ष्ट्रिय व्यापार संगठनका धेरै देशहरुसँग व्यापार गर्ने देश र विश्वको सबैभन्दा धेरै वैदेशिक मुद्रा सञ्चित रहेको देशको रुपमा हामी चीनलाई चिन्दछौँ । चीनले विश्व सम्प्रदायको बिचमा आर्थिक र राजनीतिक क्षेत्रमा जुन छवि निर्माण गरेको छ र आफ्ना नागरिकलाई जुन सेवा प्रदान गरिरहेको छ, त्यसको पछाडी चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदान र भूमिका रहेको छ । त्यसैगरी हाम्रो सन्दर्भमा पनि नेपाल कम्युनिष्ट पार्टीको भूमिका त्यहि हुनुपर्छ, त्यहि अनुसार चल्यौँ भने मुलुकको समृद्धि हुन्छ भन्ने चीनका सिकाइलाई हामीले आत्मसाथ गर्नुपर्छ । सन् २०१३ देखि हालसम्म विशाल चीनको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले गरिरहनु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पाचौँ पुस्ताको रुपमा सी चिनफिङको नेतृत्वमा चीनको आयामहरु मात्र देखिएका छैनन् चिनियाँ कम्युनिष्ट पार्टीले ४५ नयाँ विचारधाराहरु पनि विकसित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१७ अक्टोबर १८ देखि २४ सम्म बेइजिङमा सम्पन्न १९ औ महाधिवेशनदेखि चीनमा सी चिनफिङ विचारधाराको रुपमा नयाँ युगको निम्ति चीनमा नयाँ विचारधाराको विकास भएको छ । सी चिनफिङको यस विचारधाराले दुई बर्षमा विश्वको बाँकी जगत कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको गहन बहसमा छलफल निर्धारण गरेको छ । मार्क्सवादको वैचारिक धरातलमा नयाँ शताब्दीमा नयाँ विचारको रुपमा आएको सी चिनफिङ विचारले २०३५ सम्ममा चीनलाई विकसित देश, जनवादी गणतन्त्र स्थापना भएको शताब्दी सन् २०५० सम्ममा विश्वव्यापी प्रभाव सहितको गरिबमुक्त र सामूहिक क्षेत्रमा प्रभाव राख्ने शक्तिशाली देशको रुपमा स्थापित गर्न संकल्पित रहेको छ । यो सी चिनफिङ विचारधाराले आर्थिक, राजनीतिक लगायतका क्षेत्रमा व्यापक सुधार र बाहिरी रुपमा खुलापनको नीतिमा जोड दिदैँ अगाडी बढ्ने उद्घोष गरेको छ । यो विचारले १ अरब ४० करोड चिनियाँ जनताको शिक्षा, स्वास्थ्यको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । सी चिनफिङ विचारधारा भनेपछि सामूहिक सुधार, कानूनको शासन, भ्रष्टचार मुक्त सुशासनको समाज हो । नेपालले पनि यो विचारलाई आत्मसाथ गर्‍यो भने भ्रष्टचार मुक्त हुनसक्ने कुरा हामीले बिर्सनु हुदैँन । चीनको संशोधित संविधानको प्रस्तावसँगै समेटिएको नयाँ विचारधाराले समाजवादी गणतन्त्र, समाजवादी प्रजातन्त्रका साथै उद्योग, कृषि, राष्ट्रिय सुरक्षा र प्रविधिको क्षेत्रमा पूर्ण सुन्दर, समृद्ध र आधुनिक समाजवादीको रुपमा चीनलाई अगाडी बढाउने सोच राखेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अघि सार्नुभएको बेल्ड एण्ड रोड इनिसिएटिभ अहिले विश्वकै ठूलो परियोजनाको रुपमा चर्चित छ । विश्वको ६५ भन्दा बढी देशहरुले सहभागी जनाइसकेको यो अभियानमा नेपाल २०१७ मे १२ मा सहभागी भयो । सयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चसीलको सिद्धान्तमा यो अभियानले सहकार्य, समन्वय, वस्तु तथा व्यापारको प्रभाव, कनेक्टीभिटी, वित्तिय दायित्व र साझेदारी जनता जनताबिचको सम्बन्धको निर्माणलाई  प्राथमिकता दिदैँ आएको छ । सन् २०१९ अप्रिलमा बेइजिङमा भएको दोस्रो विआरआई फोरमबाट यो अभियान आर्थिक पक्षलाई समेट्दै हिमालय सिमापार

बहुआयमिक अवधारणालाई अगाडी बढाएको छ । यो चीनको मात्र नभएर विश्व समुदाय, मानव हितको लागि आएको नयाँ अवधारणाको रुपमा हामीले बुझेका छौँ । यस्तै राष्ट्रपति सी चिनफिङको बौद्धिकता, वैचारिक व्यक्तित्व र दुरदर्शीलाई प्रतिबिम्बित गर्छ । चीन र नेपाल बिचको विआरआईको सम्झौताले नेपाल चीनसँग विकासको रणनीतिक साझेदार भएको कुरा उल्लेख गर्न चाहन्छु । नेपाल र चीन दुई सत्ताको कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको आ–आफ्नो इतिहास, अबलम्वन गरेको सैद्धान्तिक, वैचारिक पक्ष, आर्थिक, सामाजिक र भौगोलिक परिवेश विकासको माझमा नयाँ प्रयोग गरी अभ्यासको रुपलाई यस कार्यक्रम मार्फत एकअर्काबिच आदानप्रदान गरिरहेका छौँ । त्यसैले यो कार्यक्रम नेपालमा अभ्यास र विकास गरिरहेको कम्युनिष्ट आन्दोलनसित सम्बन्धित राजनीतिक सांगठनिक कुरा राख्न सान्दर्भिक ठान्दछु ।

नेपालको कम्युनिष्ट आन्दोलन आफ्नै मौलिकता र विशेषतामा आधारित हुदैँ अगाडी बढिरहेको छ । आज नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकिकृत भई नयाँ पार्टीको घोषणा तिनै मौलिकता र विशेषतामा आधारित हुदैँ अगाडी बढ्ने कुरामा संयुक्त अठोटको संकल्प पनि हो । पूर्व नेकपा एमालेले मदन भण्डारीको अगुवाईमा मार्क्सवाद र नेपालको भूधरातलमा विकसित गर्ने विचारको रुपमा जनताको बहुदलीय जनवाद अगाडी बढायो । पूर्व नेकपा माओवादीले पनि परिवर्तित सन्दर्भमा अगाडी बढ्ने अठोटका साथ आफूलाई २१ औँ शताब्दीको जनवाद विकासको अवधारणाबाट अघि बढाएको थियो । आज एकीकृत नेपाल कम्युनिष्ट पार्टी संविधानको सर्वाेच्चता, विधिको शासन, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, मानव अधिकारको रक्षा, लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति प्रतिबद्धता र निरन्तरता दिइएको छ । अहिले यो पार्टी केन्द्रदेखि स्थानीय तहसम्म तिनै मान्यताको आधारमा वैचारिक, सांगठनिक एकताको अन्तिम चरणमा पुगेको छ ।

आदरणीय साथीहरु विगत लामो अवधिमा कम्युनिष्ट आन्दोलनले बलिदानपूर्ण संघर्षको माध्यमबाट राजनीतिक व्यवस्था परिवर्तन देखि राष्ट्रियताको पक्षमा गौरवमय इतिहास कायम गरेको छ । हाम्रो अनवरत संघर्ष र बलिदानको जगमा सन् २०१५ मा निर्माण भएको संविधानमा यो यथार्थ मुखारित भएको छ । नेपालमा नयाँ संविधान निर्माण भएपछि सम्पन्न भएको संघीय, प्रादेशिक र स्थानीय निर्वाचनको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै कम्युनिष्ट पार्टी सत्तासीन पार्टीमा निर्वाचित भएको छ । यो पार्टीले संघीय संसदको तल्लो सदनमा रहेको २०० सिटमा १७४ सिट हासिल गरी बलियो सरकार निर्माण गरेको छ । राष्ट्रिय सभाको ५९ सिटमा ४२ सिट हासिल गरेको छ । ७ ओटै प्रदेशमा ६ वटामा दुई तिहाई सहितको सरकार सञ्चालन गरेको छ । प्रदेश २ को प्रादेशिक संसदमा पनि नेपाल कम्युनिष्ट पार्टी सबभन्दा ठूलो पार्टीको रुपमा रहेको छ । नेपालमा रहेको ७५३ वटा स्थानीय सरकारहरुमा नेपाल कम्युनिष्ट पार्टी ४ सय भन्दा बढी संख्यामा स्थानीय सरकार स्थापना गरेको छ । अहिले हाम्रो सिङ्गो ध्यान राष्ट्रिय संकल्पको रुपमा अगाडी सारेको समृद्ध नेपाल, सुखी नेपालीको नाममा समृद्धि हासिल गर्नुपर्ने कुरामा केन्द्रित छ । नेपाल र चीनका दुई सत्तासीन पार्टीको सिद्धान्त, विचार र प्रयोगको बारेमा आ–आफ्नो अनुभव साटिरहेका छौँ । यसै कार्यक्रममा हामी एकअर्काको विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने माध्यमको रुपमा लिएका छौँ । मार्क्सवादको सैद्धान्तिक जग र फरकफरक आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक विषयको आधारमा हाम्रा प्रयोग र अभ्यासमा केही भिन्नता देखिए पनि हाम्रो पुग्ने गन्तव्य भने एउटै रहेको छ । अब हाम्रो सिङ्गो ध्यान मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ मोडिएको छ । अब हाम्रो स्कुलिङ पनि आर्थिक विकास र समृद्धिमा नै केन्द्रित हुनेछ । यसको लागि पार्टी स्कुलको स्थायी संरचनाको निर्माण, मुलुकको बद्लिदो समय अनुसार पार्टीको नीतिगत कार्यक्रमको आधारमा कार्यक्रमको विधि र नीतिहरु पनि परिवर्तन हुनेछन् । हाम्रो पार्टीको प्रशिक्षक लगायत पार्टीको नेता, कार्यकर्ता दुई पक्षीय अध्ययन भ्रमणमा नेता कार्यकर्ताकै आपसी अनुभवको आदानप्रदान गरी अवसरको सिर्जना गर्न तर्फ हामी केन्द्रित हुनु आवश्यक छ । खासगरी जनवादी गणतन्त्र चीन स्थापना भएपनि चीनले हासिल गरेको तिव्र आर्थिक विकास र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको पार्टी स्कुलका पाठ्यक्रमहरु, नेपालको समृद्धिको यात्रा र हाम्रो पार्टी स्कूलको कार्यक्रम निर्माणमा सहयोगी हुनेछन् ।

सन् १९५५ अगष्ट १ मा नेपाल चीनबिचको सम्बन्ध कायम भएपछि निर्विवाद नेपाल चीनको ऐतिहासिक सम्बन्ध प्रगाढ, मैत्रीपूर्ण र विश्वासिलो रहेको छ । नेपाल चीनबिचको प्रतिबद्धता र आफ्नो भूमि चीन विरुद्ध गतिविधि हुन नदिने अडानको साथ नेपाल चीन सम्बन्धका विशिष्ट आयाम हुन् । चीनले नेपालको सार्वभौमिता, अखण्डता र राष्ट्रिय हितको सम्मान गर्दै आएको छ । पञ्चसिलको सिद्धान्तमा आधारित नेपाल चीनको मूल सैद्धान्तिक आधार तय गरेको छ । चीनले नेपालको विकास र समृद्धिमा निस्वार्थ सहयोग पुर्‍याउँदै आएको ऐतिहासिक तथ्य नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल र चीनको बिचमा उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान हाम्रो समाजका महत्वपूर्ण पक्ष हुन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू र सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू र अध्यक्ष कमरेड प्रचण्ड ज्यूको चीन भ्रमण र हालै भएको चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण २१ औँ शताब्दीको नयाँ उपलब्धी हो । सन् २०१९ अक्टोबर १२–१३ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धमा नयाँ युगको सुरुवात गरेको छ । यो भ्रमण नेपालको राजनीतिमा परिवर्तित पछिल्लो र पहिलो गर्भिलो पनि भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबिचको व्यापार, कारोबार, हिमालयन कनेक्टीभीटि र उत्तरी सिमाना खोल्ने लगायत २० वटा सन्धीसम्झौता र समझदारीले नेपाललाई ल्याण्डलक कन्ट्रीबाट ल्याण्डलिंक कन्ट्री बनाउन सफल भएको छ । चीनको तिब्बतसँग जोडिएका नेपालका १५ जिल्लाहरुमा नाका खोली नेपालको कृषि विकासमा सहयोग गरी नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने मूल नारालाई पुरा गर्ने भूमिका खेल्नेजस्ता कुराले नेपाल चीन सम्बन्धलाई कोसेढुङ्गाको रुपमा नेपाली जनताले बुझेका छन् । यसबाट नेपालको अन्तर्राष्ट्रिय छविमा निख्खार आएको छ । नेपालको सांगठित अखण्डता बलियो भएको छ । नेपालले कहिले पनि नाकाबन्दी भोग्नु नपर्ने परिस्थिति सिर्जना भएको छ । विआरआई मार्फत चीनले गरेको आर्थिक सामाजिक सिद्धान्तको विकास नेपालले पनि पाउने अवसर प्राप्त गरेको छ । यति महत्वपूर्ण भरपर्दो मित्र राष्ट्रको यूनान प्रान्तबाट उपप्रमुख प्रा डा. ओयु लिमिङको नेतृत्वमा आएको चिनियाँ मित्रहरुको सद्भावपूर्ण भ्रमण र चिनियाँ अनुभवको आदानप्रदान नेपालको विकास, समृद्ध र समाजवादी विचार नयाँ सिकाइ प्राप्त गर्ने अवसर प्राप्त भएको छ । यहि आशा र विश्वासका साथ यो कार्यक्रमको सफलताका लागि यहाँ उपस्थित महानुभावहरुबाट सहयोगको आशा गरेको छु ।

(चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेपाल चीन हिमालय मैत्री समाजद्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभाध्यक्ष तथा नेकपा केन्द्रिय सदस्य आनन्दप्रसाद पोखरेलले व्यक्त गरेको मन्तव्य ।)

यो पनि पढ्नुहोस् :

सन् २०३५ सम्ममा चीनले प्रतिघण्टा ४५०० किलोमिटर गुडने द्रुत रेल बनाउँछ : चिनियाँ प्रो.डा. लिमिङ

प्रतिक्रिया दिनुहोस्