महिला सहकर्मीमाथि दुर्व्यवहार गरेपछि स्वास्थ्य परिषदका अधिकृतका विजयकुमार झा परे निलम्बनमा



०६ मंसिर २०७६, काठमाडौं

कार्यालय समयमै मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन्। परिषदले उनको दुई महिनाको तलव समेत रोक्का गरेको छ।

घटना गत १ मंसिरको हो। दिउसो ३ बजे तिर मादक पदार्थ सेवन गरी ‘फिट्टु’ भएर आएका झाले एक जना महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेका थिए। घटना लगत्तै ती महिला कर्मचारीले परिषद अध्यक्ष प्राडा अञ्जनीकुमार झा समक्ष आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी गरेकी थिइन।

अधिकृत झा विरुद्ध उजुरी परेपछि अध्यक्ष झाले तत्काल कर्मचारीहरुको बैठक बोलाई विभागीय कार्वाही गर्ने निर्णय गरेका हुन्। झालाई ४ मंसिरदेखि १७ मंसिरसम्म १५ निलम्बन गरिएको छ। साथै, उनलाई मंसिर र पुस दुई महिनाको तलब समेत रोक्का गर्ने परिषदले निर्णय गरेको छ।

तलब रोक्का तथा निलम्बन सम्वन्धी पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०÷३ बमोजिम निलम्बन गरिएको र सोही विनियम अनुसार दुई महिनाको तलब रोक्का गरिएको उल्लेख छ।

पत्रमा आइन्दा कार्यलय समयमा पुनः यस्ता मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा विनियमको १०÷६ बमोजिम भविष्यमा परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरी कारवाही हुने चेतावनी समेत दिइएको छ।

अधिकृत झालाई निलम्बन र तलब रोक्का गरेको पत्रमा कार्यकारी अध्यक्ष आफैले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्