स्वास्थ्य राज्यमन्त्री नवराज रावत को हुन्?



०५ मंसिर २०७६, काठमाडौं

पुनर्गठित मन्त्रिमण्डलमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी नवराज रावतले प्राप्त गरेका छन्। राष्ट्रिय राजनीतिमा त्यति चर्चामा नरहेका उनी राज्यमन्त्री बन्ने अनुमान समेत धेरैले गरेका थिएनन्।

उनी पूर्व एमालेका तर्फबाट प्रतिनिधि सभामा सुर्खेत २ बाट निर्वाचित भएका हुन्। हाल सुर्खेतमा रहेर राजनीति गरिरहेका उनको जन्म अछाम कमलबजारमा भएको हो। १५ वर्षसम्म त्यहीँ हुर्केका उनी पछि सुर्खेत आइपुगेका हुन्।

उनले २०३७ सालमा अनेरास्ववियु पाँचौंको सदस्य भएर राजनीति थालेका हुन्। रावत अनेरास्ववियु पाँचौंका प्रारम्भिक कमिटी अध्यक्ष हुँदै सुर्खेत जिल्ला अध्यक्षसम्म भए।

त्यसपछि पार्टीका तर्फबाट सुर्खेत पश्चिम कमान्डको जिम्मेवारी पाए। दुई वर्ष भूमिगत राजनीति समेत गरेका उनी माले मार्क्सवादी सुर्खेत जिल्ला कमिटी सदस्य भए।

२०५४ सालको स्थानीय चुनावमा जिविस उपसभापति बनेका उनले २०५९ सालदेखि राजा विरुद्धको आन्दोलनमा सुर्खेतको नेतृत्व गरेका थिए।

२०६३ सालमा पूर्व एमालेका सचिव र त्यसको तीन वर्षपछि उनी अध्यक्ष चुनए। पार्टी प्रमुखका रुपमा ८ वर्ष काम गरेका उनी गएको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत २ बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्