श्वासप्रश्वास र आँखाका बिरामी बृद्धि हुँदै



०४ मंसिर २०७६, काठमाडौं

अत्यन्त चल्तीका मुख्य सडकमा धुलो उडेर स्वास्थ्य समस्या बढाएको छ। जिल्लाका बर्दिवास–जलेश्वर, जलेश्वर–बखरी–सम्सी, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर, लालगढ–भङ्गाहा, धर्मपुर–कुर्था–जनकपुर र बर्दिवास–रौजा–जलेश्वरसहितका सडकमा उड्ने धुलोले श्वासप्रश्वास र आँखाका बिरामी बढेका हुन्।

जिल्लाको बर्दिवास–१ स्थित बर्दिवास आँखा अस्पतालमा गत कात्तिकमा मात्र ३०० भन्दा बढी आँखाको समस्याका बिरामीले जाँच गराएका छन्। पछिल्ला दुई दिनमा मात्रै ७५ आँखाका बिरामीले जाँच गराएका अस्पताल सञ्चालन बोर्डका अध्यक्ष मुकुन्द पौडेलले बताउनुभयो। यसबाहेक जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा श्वासप्रश्वासका बिरामीको सङ्ख्या पनि निकै बढेको छ।

पछिल्लोपटक कार्तिक अन्तिम सातादेखि चिसो बढ्ने क्रमसँगै श्वासप्रश्वासका बिरामी निकै बढेका बर्दिवास अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. बिधानचन्द्र झा बताउछन्। जिल्लामा पछिल्लोपटक श्वासप्रश्वास र आँखाका बिरामी बढ्नुको मुख्य कारण सडकमा उड्ने धुलो नै रहेको दुवै अस्पतालका चिकित्सकको भनाइ छ।

बर्दिवासमात्र नभएर जिल्लाका लोहारपट्टी, रामगोपालपुर, सम्सी र जलेश्वरसहितका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। सवारी साधनको अत्यधिक चाप हुने सडकमा उड्ने धुलोले सर्वसाधारणका कोठाचोटा र भान्साघरसमेत धुलाम्य हुने गरेका छन्। करीब ४२ किलोमिटर दूरीको बर्दिवास–रामगोपालपुर–जलेश्वर सडकको अवस्था सबैभन्दा रुग्ण छ।

छ महिना अगाडि उधिनेर (खोस्रेर, खनेर) धुलाम्य बनेको सडकमा पुनःनिर्माण र मर्मतसम्भारको काम अघि नबढाइँदा सर्वसाधारण सडकमा उड्ने धुलोले आजित भएका छन् । “घर कोठा केही भन्न पाइएन, सबै धुलाम्य छन्” बर्दिवास–२ बुद्धचोककी गृहिणी गायत्री शर्माले भन्नुभयो, “सडक उधिनेर धुलाम्य बनाउने निकायले पानीसम्म छर्कने दायित्वसमेत निर्वाह नगर्दा उदेकलाग्दो बनेको छ।”

प्रतिक्रिया दिनुहोस्