जिल्ला अस्पताल फाप्लुमा चिकित्सकको व्यवस्था



०४ मंसिर २०७६, काठमाडौं

जिल्ला अस्पताल फाप्लुमा करीब तीन हप्तापछि चिकित्सकको व्यवस्था गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाले छ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ।

नगरपालिकाले नियुक्त गरेका डा. स्मृति गौतमले आइतबारदेखि सेवा दिन थालेको अस्पतालले जनाएको छ। अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ। जिल्लामा चिकित्सक नहुँदा स्वास्थ्यचौकीसरह तीन हप्तादेखि सेवा दिँदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयवासीको विश्वास छ।

फाप्लु अस्पताल परिसरमा भेटिएका वडा नं ११ तिङलाका दानबहादुर बस्नेतले चिकित्सक नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने ढुक्क भएको बताए। कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेड भर्ना हुने बिरामी सङ्ख्या शून्य छ भने ओपिडी सेवा लिनेको सङ्ख्यासमेत ५० प्रतिशतले घटेको छ।

गाउँगाउँका स्वास्थ्यचौकीले सिफारिश गर्ने बिरामी जिल्ला अस्पताल आउने भए पनि चिकित्सक नहुँदा त्यत्तिकै जिल्ला बाहिर जानुपरेको थियो। नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्यदूधकोशी गाउँपालिका–३ बाट आएका मनिष शासंकरको भनाइ छ।

कुनै समय पाँच चिकित्सकले सेवा दिएको अस्पतालमा एकाएक सेवा प्रभावित हुँदा सङ्घीयताप्रति असन्तुष्ट बनेकाहरु चिकित्सक आएसँगै गुणस्तरीय सेवा पाउने आशामा छन्। सोलुदूधकुण्ड–४ फाप्लुका पेम्बा शेर्पा भने, “सामान्य उपचारका लागि जिल्ला बाहिर जाने समस्याको अन्त्य भयो।”

प्रतिक्रिया दिनुहोस्