चिकित्सा शिक्षा आयोगको निर्देशनालयका लागि निर्देशक सिफारिस



०३ मंसिर २०७६, काठमाडौं

चिकित्सा शिक्षा आयोग अन्तरर्गत चारवटा निर्देशनालयका लागि चार जना निर्देशक सिफारिस भएको छ। राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा बनेको निर्देशक सिफारिस समितिले गत शुक्रबार २६ जना आवेदकबाट ४ जनाको नाम निर्देशकका लागि सिफारिस गरेको हो।

सिफारिस हुनेमा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा रमेश प्रसाद आचार्य, प्राडा संगरत्न बज्राचार्य रहेका छन् । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका प्राडा दिलिप शर्मा र प्राडा आरती साह रहेका छन् ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले समितिले चार जनाको नाम सिफारिस भई आएको भन्दै अब छिटै नियुक्ति गरिने बताए ।

सिफारिस भएकाहरुलाई मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी चार वटा निर्देशनालयको जिम्मेवारी दिइने छ ।

सिफारिस समितिमा प्राडा अरुण सायमी र पूर्व सचिव महाश्रम शर्मा सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्