ढाड दुखेका कारण एक महिना भित्र नियमित काम गर्न नसकेका नेपाली १९ प्रतिशत



०३ मंसिर २०७६, काठमाडौं

ढाड दुख्ने समस्याका कारण स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव विगत चार दिन देखि वीर अस्प्तालमा उपचाररत छन्। चिकित्सकले उनलाई कुर्सीमा बस्दै नबस्न, कि हिड्न वा कि सुतेर आराम गर्न सुझाव दिएका छन्। त्यसैले उनी वीर अस्पतालको भिआईपी क्याविनमा पूर्ण रुपमा आराम गरेर बसिरहेका छन्।

तर, यो समस्या डाक्टर समेत रहेका स्वास्थ्य राज्यमन्त्रीको मात्रै होइन पछिल्लो एक महिनामा मात्रै झण्डै ५० लाख नेपालीलाई ढाड दुखाईको समस्याले घरायसी काम गर्न समस्या परेको एक सर्वेक्षणले देखाएको छ।

स्वास्थ्य मन्त्रालयको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गत फेब्रअरी देखि मे महिनासम्म गरेको नसर्ने रोग सम्वन्धि जोखिम तत्वको सर्भेक्षण (स्टेप्स सर्वेक्षण)ले यस्तो देखाएको हो।

१५ देखि ६९ बर्ष उमेर समूहका ५ हजार ५९३ जना बयस्कहरु समावेश भएको उक्त सर्वेक्षणले विगत ३० दिनमा ढाड दुखाईको कारणले घरायसी काम गर्न वा काममा जान भएको समस्या पर्नेको प्रतिशत १८।९ अर्थात (१९ प्रतिशत) देखाएको छ।

सर्वेक्षणले पुरुषको तुलनामा महिलामा सो समस्या बढी भएको देखाएको छ। ढाड दुख्ने कुल समस्या भएकामध्ये २२÷८ अर्थात २३ प्रतिशत महिला छन् भने पुरुषको प्रतिशत १४÷५ अर्थात करीब १५ प्रतिशत रहेको छ।

कुन प्रदेशमा कति?

सर्वेक्षणले विगत ३० दिनमा ढाडमा दुखाई भएको कारणले गर्दा घरायसी काम गर्न अथवा काममा जान समस्या पर्नेको प्रतिशत प्रदेश नं १ मा १५/३ मात्रै देखाएको छ।

प्रदेश नं २ मा १६.३ प्रतिशत, प्रदेश नं ३ मा १७.४ प्रतिशत, गण्डकी प्रदेशमा १८.६ प्रतिशत, प्रदेश नं ५ मा २०.२ प्रतिशत, कर्णाली प्रदेशमा २३.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २६.७ प्रतिशत देखिएको छ।

यो तथ्यले नेपालको पूर्वी भेगका बासिन्दामा ढाड दुख्ने समस्या कम र पश्चित तर्फका बासिन्दामा बढी भएको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्