स्वास्थ्यको प्रमुख विशेषज्ञ पद तीनवटै खाली



०२ कार्तिक २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव सरहकै मानिने प्रमुख विशेषज्ञ पद १२ औँ तहको तीनवटा पद छन्। तर ती सबै अहिले रिक्त छन्। दुईवटा पद रिक्त भएको बर्ष नाघि सक्यो बाँकी एउटा पद भने गत २२ भदौ देखि रिक्त भएको हो।

कानून त प्रमुख विशेषज्ञ पदमा रिक्त भएको १५ दिनमै बढुवा प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्षौ देखि रिक्त ती पदमा बढुवा गर्ने सुरसार नै देखाएको छैन। ‘तर अब चाँही देखाउँछ,’ बाह्रौँ तहको बढुवामा भएको ढिलाई बारे प्रशंग जोडदा स्वास्थ्य सचिव खगराज बरालले यसरी जवाफ फर्काएका थिए।

उनले यहि महिना भित्र तीन जनालाई बाह्रौ तहमा बढुवा गर्ने सुरसार गरेको समेत जानकारी दिए। आर्थिक बर्ष ७५ र७६ को कार्य सम्पादन मुल्यांकन गत कात्तिक मसान्तमा सम्पन्न भईसकेको छ। अब त मुख्य सचिव, लोकसेवा आयोगको प्रमुखको समय लिएर एक दिन बैठक बसेपछि काम टुंगिन्छ,’ सचिव बरालले भने।

नयाँ संरचना अनुसार प्रमुख विशेषज्ञ पद स्वास्थ्य मन्त्रालयमा दुईवटा र स्वास्थ्य सेवा विभागमा एक पद रहने व्यवस्था छ। मन्त्रालयमा रहने दुई जना प्रमुख विशेषज्ञमध्ये एक जनाले नीति योजना तथा अनुमगन, गुणस्तर मापन तथा नियमन महाशाखा हेर्ने र अर्कोले जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको छ। अर्को प्रमुख विशेषज्ञ भने स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने प्रावधान छ।

प्रमुख विशेषज्ञ पद कहिले देखि खालीः

तीनमध्ये दुईवटा पद पहिले नै खालि थियो । पछिल्लो पटक खाली भएको स्वास्थ्य सेवा विभागको महानिर्देशक पद हो । डा सुशीलनाथ प्याकुरेल २२ भदौमा अनिवार्य अवकाश लिएपछि बाँकी रहेको एउटा पद पनि खाली भएको थियो ।

त्यसअिघ २२ फागुन २०७४ मा विनोदमान श्रेष्ठ निवृत्त भएका थिए भने त्यसअघि नै अर्का प्रमुख विशेषज्ञ बनेका डा तरुण पौडेल ११ मंसिर २०७४ मा अवकाश पाएका थिए । झण्डै दुई बर्ष अघिबाटै खाली भएका दुईवटा पदमा नियुक्तिको सुरसार नै भएन ।

को को छन् लाईनमाः

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागमा महानिर्देशक बनेका डा रोशन पोखरेल, स्वास्थ्य मन्त्रालयका सहसचिवद्धय डा. दीपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका डा. भीमसिंह तिंकरी, कोशी अस्पतालका मेसु डा गुणराज लोहनी, वीर अस्पतालका मेसु डा. केदार सेन्चुरी १२ औँ तह बन्ने लाइनमा हुन्। ‘नाम त यिनै हुन्। पछिल्लो पटक भएको कार्यसम्पादन मुल्यांकनमा कोही अघि होलान कोही पछि परेका छन्,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।

सचिव बरालले भने मूल्यांकन भईसकेको भन्दै को अघि र को पछि भनेर सार्वजनिक गर्न नमिल्ने बताए।

प्रतिक्रिया दिनुहोस्