इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरु



२९ कार्तिक २०७६, काठमाडौं

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला संक्रमण विरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ। विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ।

परोपकारी संस्था सीमाविहीन चिकित्सक ९डब्टर्स विदाउट बोर्डर्सका अनुसार आगामी चार महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइने छ। यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एन्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो।

गत वर्ष नै शुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजार भन्दा बढीलाई खोप दिइएको छ, र त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ।

कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो। त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो। राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरु उगान्डा, रुवान्डा र बुरुन्डीसँग सीमा जोडिएका छन्।

पछिल्लो विवरण अनुसार यस रोगबाट हालसम्म कंगोमा मात्र २ हजार १९३ जनाको ज्यान गइसकेको छ।

कंगोमा इबोला फैलिएको यो दशौं पटक ह । पश्चिम अफ्रिकामा सन् २०१४–१६ को अवधिमा फैलिएको यो संक्रमणबाट कंगोमा त्यसबखत ११ हजार ३०० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्