सुत्केरीको दुवै मृगौला फेल



२९ कार्तिक २०७६, काठमाडौं

पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मृगौला फेल भएको छ। कार्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मृगौलाले काम नगर्ने भएको हो।

शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मृगौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मृगौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन्।

गत कार्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो। त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो। यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो। काकार्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो।

आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन्। तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन। उनको शरिर र पेट पूरै फुल्दै गएपछि मृगौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मृगौला फेल भएको देखिएको थियो। अहिले उनको अवस्था जटिल बन्दै गएको छ। उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ।

आमाको दुवै मृगौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ। बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन्। विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन्। एक÷एक दिनको अन्तरमा उनका मृगौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ। उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन्।

प्रतिक्रिया दिनुहोस्