नेपालमा नसर्ने रोगबाट मात्रै ६६ प्रतिशत मानिसको मृत्यु



२६ कार्तिक २०७६, काठमाडौं

नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ। विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ।

प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।

खासगरी शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले जानकारी दिए।

उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेको बताए। मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद इत्यादि नसर्ने रोग हुन्। नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ।

यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२ हजार ३७५ ले विपद्मा ज्यान गुमाएका, सो प्रदेशमा ५० प्रतिशत गर्भवतीले मात्र भिटामिन ‘ए’ खाएको र १३ प्रतिशतले रक्सीबाहेकका लागुपदार्थ सेवन गर्ने गरेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्