निःशुल्क पार्किङस्थल बन्दै विश्वसम्पदा क्षेत्र, सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा



२६ कार्तिक २०७६, काठमाडौं

विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन पनि बाक्लै हुने गरेको छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयले यसअघि दरबार क्षेत्र परिसरमा सञ्चालित विभिन्न कार्यालय, पसल तथा रेस्टुराँ मालिक र सरकारी नम्बर प्लेटको गाडीलाई पार्किङको सुविधा उपलब्ध गराउँदै आएपछि समस्या अझ जटिल बनेको हो । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको छ ।

उक्त सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएसँगै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयले पनि सरकारी मात्र नभई निजी तथा आफ्ना सवारी साधनलाई पार्किङ सुविधाका अतिरिक्त निर्विवाद रूपमा आवागमनको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

काठमाडौँ महानगरपालिका हनुमानढोका कार्यालयका निमित्त प्रमुख टिना बज्राचार्य वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको पार्किङ हटाउन नसकिएको स्वीकार्नुहुन्छ । कार्यालय समयमा नियन्त्रण भएकै छ तर साँझ समस्या हुन्छ उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्