अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन



२४ कार्तिक २०७६, काठमाडौं

काठमाडौंको टुँडिखेलमा बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ।

शनिबार आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए।

सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि चौधरीले आग्रह गरेका छन्। चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बारे जानकारी दिए। उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ।

कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहनेछ। सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्