
२२ कार्तिक २०७६, काठमाडौं
चिकित्सा शिक्षा आयोगले नेपालका मेडिकल कलेजमा अध्ययन् गर्न आउने विदेशी विद्यार्थीका लागि प्रवेश परीक्षा अनिवार्य भएको जनाएको छ। नेपाल मेडिकल काउन्सिलले यस सम्वन्धी व्यबस्था गतवर्ष नै ल्याए पनि कतिपय मेडिकल कलेजहरुमा यसको कार्यान्वयन भएको थिएन।
आयोगका प्रवक्ता डा. हरि लम्सालले विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनमै व्यवस्था भएको हुनाले त्यसको अनिवार्य कार्यान्वयन गर्नु विश्वविद्यालय र मेडिकल कलेजको दायित्व भएको बताउँछन्। ऐनको दफा १६ को उपदफा २ मा स्पष्ट रुपमा प्रवेश परीक्षा दिनुपर्ने उल्लेख छ।
डा लम्साल भन्छन्, ‘विगतमा कस्तो थियो भन्ने भन्दा पनि अब ऐन लागू भईसक्यो, त्यसैले यसको कार्यान्व्नय हुनुपर्छ। अब नेपालमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीले यहाँको प्रवेश परीक्षा पास गर्नुपर्छ र मेरिटको आधारमा मात्रै भर्ना हुन पाउँछ।’
विदेशीका लागि सिटः
सरकारले नेपालमा सञ्चालित स्वदेशी लगानीका कलेजमा कुल सिटको एक तिहाई अर्थात ३३ प्रतिशत र विदेशी लगानीमा सञ्चालित कलेजमा ५० प्रतिशत सम्म विदेशी विद्यार्थी भर्ना गर्न सकिने व्यवस्था गरेको छ।
त्यसो त स्वदेशी लगानीका कलेजले १० प्रतिशत र विदेशी लगानीका कलेजले नेपाली विद्यार्थीका लागि २० प्रतिशत छात्रबृत्ति सिट छुट्याउनुपर्ने व्यवस्था गरेको छ।
‘यो पनि ऐनमै भएको कुरा हो। यसको पनि पालना गर्नु अनिवार्य छ,’ प्रवक्ता डा लम्सालले भने।
विदेशीका लागि सिट निर्धारण गर्ने व्यवस्था पहिले पनि थियो तर कतिपय कलेजहरुले कागजपत्र मिलाएर तोकिएभन्दा बढी विदेशी विद्यार्थी भर्ना लिदै आएका थिए । ‘आशा गरौँ अब यस्तो किर्ते काम रोकिनेछ,’डा लम्सालले भने।





