
२१ कार्तिक २०७६, काठमाडौं
आज कार्तिक २१ गते बिहीबार आज देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले कालापानीमा भारतीय अतिक्रमणको विषयलाई प्राथमिकताका साथ उठान गरेका छन् । त्यस्तै, उपनिर्वाचनमा दलहरुले उम्मेदवार टुङ्ग्याएको देखि डा. गोविन्द केसीको अनसनलाई पनि राष्ट्रिय दैनिकहरुले प्रमुख समाचार बनाएका छन् ।
जब मोदीले उठाएनन् कोइरालाको फोन…
सरकारले कालापानी क्षेत्र नेपालकै भएको प्रस्ट पारेको छ । भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर सरकारले यस्तो घारणा सार्वजनिक गरेको हो ।
यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिपुलेकको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएको कान्तिपुर दैनिकमा समाचार छ । प्रेस संगठनले बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग केही समयअघिको भेटमा स्पष्ट कुरा राखेको बताए । यता, नयाँ पत्रिका दैनिकले लिपुलेकबारे छलफल गर्न खोज्दा मोदीले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको फोन नउठाएको समाचार प्रकाशित गरेको छ । नेपाललाई जानकारी निदिइ लिपुलेक भञ्ज्याङबाट व्यापार आदन प्रदान गर्न चीन र भारतले चार वर्षअघि सम्झौता गरेपछि प्रधानमन्त्री कोइरालाले समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्न खोजेका थिए । तर, त्यो सम्भव भएन । तत्कालिन परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला दुई प्रधानमन्त्रीबीच हरेक महिना टेलिफोन संवाद गर्ने सहमति बनेको थियो । तर, चीनसँगको सहमतिपछि त्यो संवाद निरन्तर हुन सकेन । ‘हाम्रा प्रधानमन्त्रीज्यूले लिपुलेक, कालापनीका विषयमा मोदीजीसँग छलफल गर्ने तयारीका साथ टेलिफोन गर्नुभयो । तर, उताबाट रिसिभ भएन,’ भट्टराईले भने । कान्तिपुर दैनिकले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जानकारी लिने समाचार प्रकाशित गरेको छ ।
सांसदको लागो लगाएर आलमको बयान
राजपुर बम काण्डसम्बन्धी मुद्दामा नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमसँग बुधबार पनि जिल्ला अदालत रौतहटले बयान लिएको छ । पहिलो दिन मङ्गलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो । दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो । बयान नसकिएकाले बिहीबार पनि यो जारी रहनेछ । नागरिक दैनिकका अनुसार कर्तव्य ज्यान, विस्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका आलम सांसदकै लोगो लगाएर अदालतमा उपस्थित हुने गरेका छन् । सांसदबाट निलम्बन भइसक्दा पनि उनले लागो प्रयोग गर्न छाडेका छैनन् ।
हिरासतमा बस्दा पनि उनले लोगो फुकालेका छैनन् । अन्नपूर्ण पोष्ट दैनिकले आलमलाई प्रहरीको साथ रहेको समाचार प्रकाशित गरेको छ । समाचारमा आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालिन प्रहरी अधिकारीहरुले स्वीकार गरेका छन् । तर, जवाफदेहिताबाट उनी पन्छिएका छन् । आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरुले ‘हो घटना भएको थियो,’ थाहा थियो’, ‘कारवाही गर्नु भनेको थिएँ’ जस्ता उत्तर दिएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा घरमा लगिएको उत्तर पुस्तिकामा लेखेर त्रिविको परीक्षा पास गरिने गरेको समाचार प्रकाशित गरेको छ ।
त्रिविले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तर पुस्तिका साट्ने गरेको खुलेको हो । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारयण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन् । चौधरी र दाहाल अख्तियारको फन्दामा छन् भने छात्रा फरार रहेका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्न नपर्ने समाचार पनि प्रकाशित गरेको छ । छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको चिकित्सकहरुले बताएका छन् । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि प्राथमिकता नपाउँदा नेपाल एयरलाइन्सले मासिक करोडौ नोक्सानी व्यहोर्नुपरिरहेको भन्दै ‘आफ्नै विमानस्थलमा नियतवस होल्ड गराइन्छन् निगमका जहाज’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । एयर ट्राफिक कन्ट्रोलरले विदेशी जहाजलाई प्राथमिकता लिएर अवतरण गर्न दिन्छ । दुई महिनमा जहाज १२० घण्टा होल्ड हुँदा निगमलाई करिब २५ करोड नोक्सान भएको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकमा निर्मला पन्त प्रकरणमा डिएनएलाई प्रमाण मान्न नमिल्ने भन्दै हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुलेको समाचार प्रकाशित छ । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ।
गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ। कञ्चनपुर प्रहरीले गत वर्षको भदौ ४ गते दीलिपसिंह बिष्टलाई बयान र अन्य प्रमाणका आधारमा सो घटनामा संलग्न भएको पाइएको भन्दै सार्वजनिक गरेको थियो। तर बिष्टको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनलाई प्रहरीले अदालतमा पेस गर्न सकेन। गृह मन्त्रालयद्वारा गठित प्राविधिक समितिले निर्मलाको ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट ‘भेरिफाई’ गर्न नसकिएको र प्रयोगशालाले पनि भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। त्यसैगरी ५ नम्बर बुँदामा भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो भन्ने अवस्था रहेन भन्ने उल्लेख छ। यसले गर्दा प्रहरीलाई हत्या अभियोगमा पनि अनुसन्धान गर्ने बाटो खुलेको छ।
कान्तिपुर दैनिकले ललिता निवासमा शंकास्द फैसला गर्ने न्यायाधीशमाथि एकाएक छानबिन रोकिएको समाचार प्रकाशित गरेको छ । जिल्ला अदालत काठमाडौँबाट भएको फैसलामाथि अनुसन्धान थालेको न्यायपरिषद् एकाएक निष्क्रिय छ । त्यस्तै, सम्बन्धन खारेजीमा परेको चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले आफू खुसी भर्ना गरेका विद्यार्थी अलपत्र परेको समाचार प्रकाशित गरेको छ । २०७५ असोजमा भर्ना भएका ३० जना विद्यार्थी रजिस्ट्रेसन नै नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले विदेशमा लाखमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको समाचार प्रकाशित गरेको छ । मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ। मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ। ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो। तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ। गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ। रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्।
उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो। विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो। पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट ९करिब एक लाख रुपैयाँ० तिरेर किनेको बयान दिएका छन्।





