३ दिनमै बिग्रियो डा. केसीको स्वास्थ्य



२० कार्तिक २०७६, काठमाडौं

चिकित्सा शिक्षा सुधारको माग गर्दे गत सोमबारबाट अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ। यसअघि २७ दिनसम्म अनसन बसेका डा. केसीको स्वास्थ्य यसपटक भने तीन दिनमै कमजोर बनेको छ।

डा. केसीको यो १७ औं अनसन हो। अनसनरत डा. केसीको बुधबार बिहान नियमित स्वास्थ्य परीक्षण गरिएको थियो। सो क्रममा उनको रक्तचाप असन्तुलित रहेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जितेन्द्र कँडेलले बताएका छन्।

उनका अनुसार बिहान जाँच गर्दा रक्तचाप ९० र ६० पुगेको थियो। डा. केसीले पनि कमजोर फिल गरेको उनको भनाइ छ। स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई जिल्ला अस्पताल सार्ने तयारी भइरहेको छ।

७ बुँदे माग राख्दै डा. केसी डडेल्धुराको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनसनरत छन्। चिसो कोठा र मौसम बदलिका कारण अघिल्ला अनसनमा भन्दा यस पटकको अनसनमा डा. केसीको स्वास्थ्य चाडै कमजोर बनेको हुनसक्ने चिकित्सकहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्