
२० कार्तिक २०७६, काठमाडौं
आज कार्तिक २० गते बुधबार देशका राष्ट्रिय दैनिकहरुले रौतहट बम काण्डका मुख्य आरोपी मोहम्मद आफताब आलमको बायन शुरु भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, डा. गोविन्द केसीको अनसन, भारतले जारी गरेको नयाँ नक्साको विवादको बारेमा पनि आज समाचारहरु प्रकाशित भएका छन् ।
परिचयमा सकियो पहिलो दिनको बायान
नागरिक दैनिकका अनुसार राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित मोहम्मद आफताब आलमको मङ्गलबारको बयान परिचयमै सकिएको छ । प्रहरीले आलमलाई बिहान सवा १० बजे जिल्ला अदालतमा उपस्थित गराए पनि बयान ३ बजेदेखि सुरु भएको थियो । ढिलो गरी सुरु भएको बयान परिचयभन्दा अघि बढ्न सकेन । परिचयकै क्रममा कार्यालय समय सकिएपछि बयानका लागि आलमलाई बुधबार फेरि अदालतमा उपस्थित गराइनेछ । अन्नपूर्ण पोष्ट दैनिकका अनुसार आलमसँग मङ्गलबार नौ वटा प्रश्नहरु सोधिएका थिए । आलम पक्षका कानुन व्यवसायीहरुले मिसिलको फोटोकपी नपाएको भन्दै केहीबेर बयान रोकेका थिए । आठ सयभन्दा बढी पृष्ठको मिसिल फोटोकपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिल कार्यालयले जनाएको छ । यता, कान्तिपुर दैनिकले भने घटनाका प्रत्यक्षदर्शीरुले काँग्रेस नेता एवम् पूर्व मन्त्री आलमकै योजनामा घाइतेहरुलाई इँटाभट्टामा हालेको बयान प्रकाशित गरेको छ । जिल्ला अदालत रौतहटबाट प्राप्त मिसिलमा प्रत्यक्षदर्शीहरुले सो कुरा स्वीकारेको पत्रिकाले उल्लेख गरेको छ ।
कालापानी विवाद नयाँ कि पुरानै ?
कालापानी नेपालकै भूभाग भएकाले भारतसँगको त्यससम्बन्धी विवाद नयाँ नरहेको नेपाली अधिकारीहरुले बताएको कान्तिपुर दैनिकले उल्लेख गरेको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको नयाँ नक्सामा पुरानै दाबी दोहोर्याइएको र यो भूभाग नेपालकै भएको बताए । ‘यसलाई कुराकानीबाट टुङ्गाउनुपर्छ । आ–आफ्नो प्रमाण पेस गरेर टुङ्ग्याउनुपर्छ । छलफल र कुटनीतिक माध्यमबाट टुङ्ग्याउनुपर्छ,’ उनले भने ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकतालाई स्वीकार गरेको उल्लेख गरेको छ । उसले सन् १८५० आसपासदेखि कृत्रिम नदी खडा गरी कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो । त्यसपछि भारतीय नक्सामा नदी लुकाइएको थियो । भारतले त्यसलाई पुनः स्थापपित गरेको छ । यो नक्साका कारण भारतले कब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको छ । ‘कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी छ । भारतले नयाँ नक्सामा पुरानै विषयलाई दोहोर्याएको छ,’ नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए ।
नयाँ पत्रिका दैनिकले ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि अब औपचारिक रूपमै भारतीय नक्सामा परेको समाचार प्रकाशित गरेको छ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको बेला भारतले नेपाललाई फेरि झस्काएको छ ।
सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रूपमा निर्विवाद थियो । तर, सन् १८६० मा चीनसँग युद्धको दौरानमा भारत काली तरेर नेपाली भूमि अतिक्रमण गर्दै अघि बढ्यो । अतिक्रमण गर्दै भारतीयहरू लिपुलेक आए र त्यहीँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फी रूपमा घोषणा गरे । त्यसो त भारतको यो अतिक्रमणलाई छिमेकी चीनले पनि औपचारिक रूपमै साथ दिएको छ । नेपालको भूमि प्रयोग गरेर हुने भारत र चीनले गर्ने व्यापारको विषयमा नेपाललाई जानकारी नै दिइएन ।
अन्नपूर्ण पोष्ट दैनिकले न्यारो बडी घोटाला गुपचुप बनाएको समाचारलाई प्रमुख समाचार बनाएको छ । नेपाल बायुसेवा निगमको न्यारो बढी जहाज खरिदमा भएको एक अर्बभन्दा बढीको अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको समाचारमा उल्लेख छ । एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले प्रतिवदेन लुकाएको छ । सत्तासिन नेताकै कारण प्रतिवेदन गुपचुप राखिएको समाचारमा दाबी गरिएको छ ।
यता, नागरिक दैनिकले नेकपाले कमान्डर तोक्दा काँग्रेस अझै अलमलमा रहेको समाचार प्रकाशित गरेको छ । उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा साना दलले उम्मेदवार घोषणा गर्नेदेखि घर दैलो अभियान थालिसकेका छन् भने ठूला दल उम्मेदवार चयन र सम्भावित मत परिणाम जोडघटाउमा लागेका छन् । कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । भट्टराईलाई जिताउन सम्पूर्ण पार्टी परिचालन गर्ने पार्टीले निर्णय गरेको छ । प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा हाइ कमान्ड टिम बनाएर पार्टीले प्रचारप्रसार थाल्नेछ ।
कान्तिपुर दैनिकले प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर देखिएको समाचार प्रकाशित गरेको छ । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलाइसिस गराएका ओलीको शनिबार या आइतबार फेरि डायलाइसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलाइसिस पछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रो पटक गर्नुपरेको छ । अब चाहिएको बेला मात्रै डायलाइसिस गर्नुपर्ने समाचारमा उल्लेख गरिएको छ ।





