४९ वटा गोरु भारततर्फ तस्करी गर्दैगर्दा दुई पक्राउ



१९ कार्तिक २०७६, काठमाडौं

प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४९ वटा गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय, विर्तामोड र प्रहरी चौकी, सुरुङ्गाबाट खटिएको टोलीले कनकाई नगरपालिका–३, तुलसीबारीबाट वीरबहादुर थिङ र नवलपरासीका विजय चौधरीलाई (आज) मंगलबार पक्राउ गरेको हो।

विर्तामोड प्रहरीका अनुसार पक्राउ परेका दुवै जना ना ५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रकका चालक हुन्।

पक्राउ परेका व्यक्तिसहित ट्रक चालकलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा पठाइएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले गोरुबहरु नवलपरासीबाट ल्याइएको देखिएको छ।

नवलपरासीका प्रमोम यादवले कनकाई–३ का रमेश खरेललाई बुझाउने गरी गाइगोरु पठाइएको भेटिएको विर्तामोडका डीएसपी मोहनकुमार थापाले बताए।

पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसूर अन्तर्गत कारबाही हुनसक्छ। जसअनुसार कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्‍याए ५० हजार रुपैयाँसम्म
जरिवाना हुने व्यवस्था छ। यो कार्य पशु ढुवानी मापदण्ड, २०६४ विपरित समेत छ।

प्रतिक्रिया दिनुहोस्