सबै प्राथमिक स्वास्थ्य केन्द्रमा अब रेबिज सुई



१८ कार्तिक २०७६, काठमाडौं

सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुई भण्डारणको क्षमता भएका सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई पठाउन थालेको छ।

गत साउनमा काभ्रेका एक युवकको रेबिजका कारण ज्यान गएपछि विभागले सुई वितरण थालेको जनाएको छ। यद्यपी ती सुई प्रदेश मेडिकल स्टोरहरुसँग समन्वय गरि प्राथमिक स्वास्थ्य चौकीहरुले लानुपर्ने छ।

रेबिजले ज्यान जाने युवकले नजिकै रेबिज विरुद्धको सुई नपाएकाले नलगाएको घटनापछि गरिएको अध्ययनबाट पत्ता लागेको थियो। रेबिजको सुई सबै स्थानीय तह र प्राथमिक स्वास्थ्य चौकीमा उपलब्ध भए जनावरले टोक्नासाथ सुई लगाउन सक्छन् भनेर यो कार्यक्रम थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जुनोटिक रोग शाखाकी भेटेनरी अफिसर डा. रोशिका श्रेष्ठले बताइन्।

उनले भनिन्, काभ्रेमा रेबिजले युवकको ज्यान गइसकेपछि रेबिजको खोपलाई सबैको पहुँचमा पुर्याउन विभागले गरेको निर्णय अनुसार माग भइआएको प्राथमिक स्वास्थ्य चौकीलाई रेबिजको खोप पठाइएको छ। रेबिजको खोप यसअघि जिल्ला स्वास्थ्य कार्यालयमा हुन्थ्यो त्यो पनि समयसमयमा स्टक सकिएर बिरामीहरु राजधानी नै आउनुपर्ने बाध्यता थियो।

रेबिज प्राणघातक रोग हो। यसको संक्रमण भएर लक्षण देखापरेपछि मानिसको मृत्यु हुन्छ। घरपालुवा वा वन्यजन्तुको टोकाइबाट सर्ने रेबिजको लक्षण केही वर्षमा देखिनपनि सक्छ। तर, रेबिज संक्रमण भइसकेपछि मानिसको बाँच्ने सम्भावना नगन्य हुने महाशाखाको जुनोटिक तथा अन्य सरुवा रोग शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाले बताए।

प्रतिक्रिया दिनुहोस्