
१७ कार्तिक २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरेका छन्।
प्रधानमन्त्रीको मृगौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो। त्यस्तै, तेस्रो डायलासिसको तयारी भइरहेको छ।
त्यसअघि प्रधानमन्त्री ओली आइतबार विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका हुन्। त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो। त्यसक्रममा फोक्सोमा जम्मा भएको पानी अहिले नरहेको पाइएको छ।
‘चेकजाँच गर्दा फोक्सोको पानी निकाल्नु पर्दैन भन्ने निष्कर्षमा चिकित्सकहरु पुग्नुभयो र उहाँ फर्किनुभयो,’ सेन्टरका एक चिकित्सकले भने। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओली परामर्श र सामान्य जाँचका लागि अस्पताल गएर बालुवाटार फर्किएको जानकारी दिए ।





