
१५ कार्तिक २०७६, काठमाडौं
विराटनगरको विराट नर्सिङ होममा शल्यक्रिया गरेर पाठेघर फालिएकी सुत्केरीको मृत्यु भएपपश्चात् आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। सुनसरीको दुहवी नगरपालिका–८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको बिहीबार साँझ ७ बजे मृत्यु भएको हो।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरी शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन्। सुत्केरी व्यथाले च्यापेपछि रमिलालाई मंगलबार बिहान आफन्तले बूढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गरेका थिए।
दुई दिन अघिमात्रै उनलाई स्वास्थ्य परीक्षणका लागि त्यहीं ल्याइएको थियो। सामान्य अवस्थामै पहिलो सन्तानका रुपमा बिहान ८ बजे छोरा जन्माए पनि अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याक्न सुझाव दिएको रमिलाका श्रीमान भूपाल घिमिरेले बताए।
‘११ बजेसम्म रक्तश्राव नरोकिएपछि रक्तश्राव रोक्नका लागि चिकित्सकले नै पाठेघर फ्याल्नु पर्ने सुझाव दिएपछि हामी सहमत भयौं,’ भूपालले, ‘दिउँसो ३ बजे शल्यक्रिया सफल भएका कारण अहिले अवस्था सामान्य रहेको र होस चार घण्टापछि फर्किन्छ भनेर जानकारी दिइयो।’
तर भोलिपल्टसम्म रमिलाको होस नफर्किएको भन्दै चिकित्सकले थप उपचारका लागि भनी परिवारका सदस्यको अनुमति बिनै बुधबार दिउँसो टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा लिएर गएको भूपालको भनाइ छ।
मान्छे बचाउनका लागि भएपनि आफूहरु पारिवारिक सल्लाह गरेर पाठेघर फ्याल्ने कुरामा सहमत भएको भूपालले बताए। ‘रक्तश्राव नरोकिए पनि बच्चा जन्माइसकेपछि जाउलो, जुस र दाल खाएकी सुत्केरी श्रीमती राम्ररी बोल्न सक्ने अवस्थामै थिइन्,’ उनले भने, ‘तर चिकित्सकले पाठेघर नफ्यालेसम्म रक्तश्राव रोकिंदैन भने।’ जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा लगेर राखेको उनले बताए।





