शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा



०८ कार्तिक २०७६, काठमाडौं

गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका– १३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माइन्। श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले टाढाको अस्पताल जान सकेनन्।

जोखिम मोलेर पनि दुई शिशु घरमै जन्माएँ उनले भनिन् “हाल गाँउ नजिकै शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सेवा सञ्चालन भएपछि तेस्रो शिशु सुरक्षितरुपमा जन्माउन पाएँ।” घरमै शिशुलाई जन्म दिँदा निकै कष्ट झेलेकी उनी स्वास्थ्य केन्द्रमा सहजरुपमा शिशुलाई जन्म दिन पाइएकामा खुशी छन्।

केन्द्रका स्वास्थ्यकर्मीको सल्लाहमा उनले नियमित गर्भ जाँच गराउनाका साथै केन्द्रमै शिशु जन्माएपछि यातायात र प्रोत्साहन रकम पाउदा दङ्ग भएकी छन्।

श्रीमानले कमाएको रकमले खाना जुटाउनै मुश्किल हुन्छ उनले भनिन् “प्रसूति केन्द्रबाट पाइएको रकमले पोषिलो खाने कुरा खान पाइने भएको छ।” चोबिसै घण्टे प्रसूति केन्द्रमा शिशुलाई जन्म दिने आमा र शिशुको स्वास्थ्य अवस्थाको स्थिति पत्ता लगाउनका लागि स्वास्थ्यकर्मीले केन्द्रमै बोलाएर जाँचसमेत गर्ने गरेका छन्।

गाउँका ६० प्रतिशत महिलाले टाढाको अस्पताल जान नसक्दा विगतमा असुरक्षित तरिकाले घरमै शिशुलाई जन्म दिँदै आएका थिए। हाल प्रसूति केन्द्र सञ्चालनले गर्भवती महिला नियमित जाँचसँगै प्रसूतिका लागि केन्द्रमा पुग्ने गरेका छन्। रक्तअल्पता हुन नदिन र पोषिलो खानेकुराको व्यवस्थाका लागि स्वास्थ्यकर्मीले गर्भवती भएका महिला र उनका अभिभावकलाई सल्लाह दिने कार्यसमेत गर्दै आएकाले आमा र शिशुको अवस्था सन्तोषजनक हुन थालेको छ।

विगतमा पोषिलो खानेकुरा खानुपर्छ भन्ने चेतनाको अभावका कारण जन्मिने शिशुमा कुपोषणको समस्या अधिक थियो केन्द्रका स्वास्थ्यकर्मीले भने, “चेतना वृद्धिसँगै हाल त्यो समस्या हट्दै गएको छ।” हाल नौ शिशुमा कुपोषणको समस्या देखा परेकामा उपचारात्मक औषधियुक्त खानाको माध्यमबाट उपचार गरी निको पारिएको छ। केन्द्रमा गत आवमा ९९ महिलाले प्रसूति सेवा लिएका थिए । चालू आवको हालसम्म ३५ ले प्रसूति सेवा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्