
०८ कार्तिक २०७६, काठमाडौं
हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा साढे २३ लाख रकमसहित पाँचजना पक्राउ परेका छन्। प्रहरीले स्रोत खुलाउन नसकेको २३ लाख ५० हजार रुपैयाँसहित २ जना भारतीय नागरिक र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट बारा प्रसौनी गाउपालिका वडा नंम्बर २ अहिर्वाटोल बस्ने ३२ वर्षीय बिरेन्द्र साहबाट स्रोत खुल्न नसकेको २ लाख ५० हजार, बारागढि गाउँपालिका वडा नम्बर २ दौरुवाटोल बस्ने २६ वर्षीय शनि जैसवालको साथबाट २ लाख ५० हजार र भारत रामगढवा थाना ग्राम रामगढवा बस्ने ६० वर्षीय सकिर मियाको साथबाट पाँच लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट अगाडिबाट प्रहरीले थप २ जनालाई स्रोत खुलाउन नसकेको १३ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिइएको जनाएको छ।
भारत विहार पूर्वी चम्पारण थाना सुगौली वडा नम्बर ८ बस्ने ४६ वर्षीय गोपाल प्रसाद अग्रवालको साथबाट ९ लाख र वीरगञ्ज १४ बस्ने २५ वर्षीय मन्टु कुमार साह कानुको साथबाट ४ लाख ५० रुपैयाँ बरामद भएको प्ररीले जनाएको छ।





