
०८ कार्तिक २०७६, काठमाडौं
नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ। मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।
वि. सं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो। २०२० सालमा एक कोठाबाट कैदीबन्दीको स्वास्थ्य चेकजाँच गरे पनि २०६८ सालदेखि १५ श्ययाको अस्पतालमार्फत सेवा प्रदान गरिएको थियो। गत वर्ष ३० श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिएको उक्त अस्पतालले श्ययाको स्तरोन्नतिसँगै सेवासमेत थप गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सचिन यादव कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताउछन्। “कैदीबन्दीलाई सबै रोगको उपचार कारागार अस्पतालभित्रै गर्ने व्यवस्थाका लागि उक्त सेवा विस्तार गरेका हौँ,” उनी भन्छन्।
कारागार अस्पतालले हाल बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, छालारोग, आँखा, मनोरोग, क्षयरोग, कुष्ठरोग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन भएको छ। केन्द्रीय कारागारमा हाल तीन हजार २०८ कैदीबन्दी छन्। केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ। तीन वटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको केन्द्रीय कारागारका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउछन्।
डा यादव कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउछन्। पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको छ। उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन्।





