भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ब्रोइलर कुखुरा बरामद



०६ कार्तिक २०७६, काठमाडौं

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ठूलो संख्याको ब्रोइलर कुखुरा नेपालगञ्जमा बरामद गरिएको छ।

साईगाउँ नाका हुँदै नेपालगञ्ज प्रवेश गराइएको ५८ वटा ब्रोइलर कुखुरा बुधबार बिहान साढे ५ बजे आदर्शनगरबाट बरामद गरिएको हो। राष्ट्रिय अनुसन्धानको टोलीले युपी ४० २२७२ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको कुखुरा बरामद गरेको थियो।

साईगाउँ नाका भएर आदर्शनगर हुँदै कुखुरा भित्रिरहेको धेरै जनगुनासो रहँदै आएको छ। नेपाल प्रहरीले बेलाबेलामा निगरानी गरेपनि निरन्तर कडाई गर्न सकेको छैन। सरकारले भारतबाट ब्रोइलर कुखुरा ल्याउन प्रतिबन्ध लगाएपनि कारोबारीले छोटी नाकाबाट भित्र्याइरहेका छन्।

राष्ट्रिय अनुसन्धानको टोलीले बरामद गरेको कुखुरा सशस्त्र प्रहरीमार्फत क्वारेन्टाइनमा बुझाउने तयारी भएको छ। प्रहरीले बरामद गरेको कुखुरा क्वारेन्टाइनमा बुझाउने र क्वारेन्टाइनले कुखुरालाई नष्ट गर्ने गर्दछ । कुखुरासँगै बरामद भएको मोटरसाइकल, साइकल, मान्छेलाई जरिवाना गर्ने गर्दछ।

राष्ट्रिय अनुसन्धानको टोलीले अहिलेसम्म सूचना दिएर प्रहरीमार्फत कारोबारीलाई पक्राउ गराउदै आएकोमा बुधबार आफैले कुखुरा नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्